
धनगढी। भारतमा जारी एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले बरोडालाई २७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको बरोडा निर्धारित ओभरमा अलआउट हुँदै १२९ रन मात्र बनाउन सक्यो । बरोडाका लागि भानु प्यानियाले ३८ र बाबा खानले २७ रनको योगदान गरे । अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् ।
नेपालका लागि करन केसीले ३ तथा दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा र गुल्शन झाले १-१ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ थालेको नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । नेपालका लागि कुशल मल्लले २५ बलमा अविजित ४० रन बनाए । सन्दीप जोराले १६ बलमा २९ रन बनाए।
अनिल साह २५, कप्तान रोहित कुमार पौडेल १८, गुल्शन झा १३, कुशल भूर्तेल ९, आसिफ शेख ९ रनमा आउट भए । बरोडाका लागि बाबा खानले २ तथा मोहित मोङ्गिया र परिक्षित पतिदारले १–१ विकेट लिए।
फ्रेन्डशिप कपमा नेपाल, बरोडा र गुजरातको सहभागिता छ। नेपालले गुजरातसँग बिहीबार २:३० बजे खेल्नेछ।
