धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिने भएको छ । तत्कालीन सहयात्री दलले समर्थन फिर्ता लिएको एक महिनाभित्रै मुख्यमन्त्रीले सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । सो बाध्यताले उनि आफू नेतृत्वको सरकारप्रति सदनको विश्वास रहेको वा नरहेको पुष्टि गर्नका लागि प्रदेश सभा सदनबाट विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । “मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त पत्रको आधारमा बैठकबारे सबै प्रदेश सभा सदस्यहरुलाई सूचना पठाइसकेका छौं”, उनले भने।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रदेश सरकारले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिइरहेको छ । माओवादीले सरकारलाई दिएको समर्थन गत फागुन २३ गते फिर्ता लिएको थियो।
सुदूरपश्चिमको ५३ सदस्यीय प्रदेशसभामा अहिले कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका र स्वतन्त्र १–१ सांसद छन्।