
धनगढी। केन्द्र सरकारमा नयाँ समीकरण बनेपछि सुदूरपश्चिममा अल्पमतमा परेको मुख्यमन्त्री कमलबहादुर शाह आफू नेतृत्वको सरकार जोगाउन काठमाडौं उडेका छन्। मुख्यमन्त्री शाह अर्का प्रभावशाली मन्त्री प्रकाशबहादुर देउवालाई साथमा लिएर हिजो साँझ श्रीएरलाइन्सको फ्लाइटमा काठमाडौ गएका हुन ।
बहुमत जुटाउन जस्तोसुकै कदम चाल्न तयारीमा रहेका शाह विश्वासको मत लिइसक्नुपर्ने अन्तिम दिन नजिकिँदै गर्दा थप तनाबमा रहेका छन्। सत्ता जोगाउन रेशमको सल्लाहमा उक्त पार्टीका सबै सांसदलाई सरकारी सुबिधा दिन ७ मध्ये ५ जनालाई मन्त्री बनाएका शाहले नागरिक उन्मुक्ति पार्टी विवाद उत्कर्षमा पुगेपछि थप तनाबमा रहेका हुन् ।
अब राजीनामा दिने कि, संसद फेस गर्ने भन्नेमा दोधार रहेका उनले त्यसबारे कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन लिन काठमाडौ प्रस्थान गरेको बुझिएको छ। उनले देउवा र नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पनि भेट्ने बताइएको छ ।
मुख्यमन्त्री शाह विश्वासको मत लिनु पर्ने अवस्था आएमा चैत २२ गते विहीबार लिने मुडमा रहेको उनी निकट स्रोतको भनाइ छ।
