धनगढी। रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ। काठमाडौँ अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला आफूमाथि पार्टी केन्द्रीय कार्यालयभित्रै आक्रमण भएको नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले बताएका छन्।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर उनले आफूहरूलाई रेशम चौधरीले आइतबार पार्टी कार्यालयमा भएको छलफलमै हत्या हुन सक्ने धम्की दिएको र सोमबार केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको उनले दाबी गरे।
वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको र विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ । उनीहरू दुवैजना रन्जिता पक्षका हुन् । नाउपाको अध्यक्षमा रेशम चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि सो पार्टीमा पछिल्लो समय संस्थापक २१ जना केन्द्रीय सदस्यहरूको बैठक बस्ने गरेको छ।
रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ। रन्जिता पक्ष भने त्यसको विपक्षमा छ। त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन् । यो विवाद बढ्ने क्रममा रेशम दम्पतीबिच दूरी समेत बढेको छ।