अत्तरिया उद्योग वाणिज्यका वर्तमान र पूर्व अध्यक्षले किन गरे प्रहरीमा आत्मसमर्पण ?

धनगढी । अत्तरिया उद्योग वाणिज्य संघका वर्तमान र पूर्व अध्यक्षले प्रहरीमा बुधबार आत्म समर्पण गरेका छन्। प्रहरीको फरार सूचीमा रहेका वर्तमान अध्यक्ष कल्याणसिंह बोहरा र पूर्व अध्यक्ष अशोकराज देवकोटाले जिल्ला प्रहरी कार्यालय कैलालीमा पुगेर आत्म समर्पण गरेका हुन्।

दुबै जना करिब डेढ महिनादेखि फरार थिए। दुबै जना सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली टीकट ठेली प्रकरणमा जोडिएका थिए।प्रादेशिक महोत्सवमा २८ वटा ठेली नक्कली टिकट फेला परेका थिए। ठेली छपान गर्ने बमबहादुर बोगटी, रुजु गर्ने संघका महासचिव शंकर खड्का, सचिव दिलिप साउँद, बिक्रीको जिम्मा पाएका दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महरालाई जिल्ला सरकारी वकिल कार्यालयले रिहा गर्ने निर्णय गरेको थियो।

पक्राउ परेका चार जना रिहा भएपछि अध्यक्ष बोहरा र पूर्व अध्यक्ष देवकोटा फरार भएका थिए। महोत्सवमा एक लाख ४० हजारको नक्कली टिकट बिक्रीका लागि ठेली छपान गरिएको थियो। दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, स्ववियुले प्रतिटिकटमा २ रुपैयाँ पाउने सम्झौतामा बिक्रीको काम गरेको थियो। रेडक्रसले समेत एक रुपैयाँ पाउने सम्झौता थियो। तर, संघका महासचिव खड्काले २८ वटा नक्कली ठेली नियन्त्रणमा लिएपछि घटना प्रहरीमा पुगेको हो। 

दुईवटा ठेली पूर्ण विक्री भएको, एकबाट १७ वटा, अर्काेबाट १३ र अर्काेबाट ६ वटा टिकट बिक्री भएको अवस्थामा आयोजकले टिकटका ठेली नियन्त्रणमा लिएको थियो। जसमध्ये एक सय ३६ वटा नक्कली टिकट महोत्सवमा बिक्री भएका थिए। अत्तरिया उद्योग वाणिज्य संघमा मिलापत्र नभएपछि घटना प्रहरीमा पुगेको थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.