
धनगढी। रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा आज हर्षोलासपूर्वक मनाइँदैछ। पहाडी जिल्लामा आइतवार होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो।
होलीका अवसरमा सरकारले तराईका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ। होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व छ। दैत्यराज हिरण्यकश्यपुले आफ्ना पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी र प्रल्हाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरिन्छ।
परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ। होलीले आपसी सद्भाव, भातृत्व र आत्मीयता बढाउन सहयोग पुर्याउँछ। होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर खुसी साटासाट गर्ने गरिन्छ। भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ।
स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक–फरक छ। हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ। मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ। होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।
