धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई धम्की दिएको बताएका व्यक्ति मरणासन्न छन् । उनी विषादी सेवन पछि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । आज बिहान साढे १० बजेको समयमा उपमहानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले नगरपालिका भित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेको बताईएको छ।
अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेको र अवस्था गम्भीर र स्थिर रहेका डाक्टर शेरबहादुर कमरले बताए । रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पत्र पठाएको थियो।
‘धम्की दिएको र सुरक्षाको माग गर्दै निवेदन आएपछि रानालाई हामीले सम्पर्क गरेका थियौ ’ प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले भने, ‘हिजो बौनिया थिए आज १० बजे प्रहरी कार्यालय आउँछु भन्नु भएको थियो । अहिले विष सेवन गरेको सुनियो ।’
रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान नगर प्रहरीले नियन्त्रणमा लिएर लगेको बताएका छन् । ‘बिहान ८ बजे घरमा पुगेका नगर प्रहरीले तपाईँको छोरालाई हामी लग्दै छौँ भनेको थियो । घरबाट राम्रै पठाएको थिए । नगर प्रहरीले समातेर लगेको हो,’ रानाले भने, ‘अहिले विषादी सेवन गरेर अस्पतालमा पुगाइएको छ ।’
उनका आफन्तहरूले जग्गा अंशबन्डा सम्बन्धी मेयरलाई प्रश्न गरेकै भरमा पक्राउ गर्न नगर प्रहरी पठाएको बताए । ‘एउटा नागरिकले आफ्नो समस्याबारे नगरप्रमुखलाई प्रश्न गर्नै नमिल्ने हो’ उनले भने ‘त्यति प्रश्न गर्दा सादा पोसाकमा नगर प्रहरी घरमै पुगे ।’
तर नगर प्रहरीले भने रानालाई नियन्त्रणमा नलिएको दाबी गरेको छ । धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भूपेन्द्र खड्काले रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए ।