धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा काँग्रेस नेर्तत्वको सरकारलाई समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय हुने संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले जानकारी दिए ।
संघीयमा नयाँ गठबन्धनको पक्षमा उभिएको तर, सुदूरपश्चिममा पुरानै काँग्रेस सरकारमा रहेको नाउपाले सुदूरपश्चिम प्रदेश सरकारका विषयमा बैठकबाट निर्णय गर्ने भएकोले यसलाई सबैजसोले चाँसो दिएर हेरिरहेका छन् । अहिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह अल्पमतमा परेका छन् ।
माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएको प्रदेश सरकारलाई नागरिक उन्मुक्ति पार्टीले अहिलेसम्म काँध थापेकाले राप्रपा र स्वतन्त्रलाई मिलाउन सके सरकार बहुमतमै रहने छ । मुख्यमन्त्री शाह पनि यस्तै कसरतमा छन् । अहिले प्रदेश सरकारमा नाउपाका सात सांसद मध्ये पाँच जना मन्त्री छन् ।
केन्द्रमा नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि प्रदेशमा काँग्रेस नेतृत्वको सरकार धर्मराएको हो । तर, अहिलेसम्म पनि प्रदेशमा काँग्रेस नेतृत्वको सरकारबाट नाउपाले समर्थन फिर्ता लिएको छैन । आज समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय हुने नाउपाका नेताहरूको दाबी छ ।
५२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा बहुमतको सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । यहाँ काँग्रेसका १८ र नाउपाका ७ सांसद छन् । यी दुई दल मिल्दा पनि सुदूरपश्चिम प्रदेशमा राप्रपाका १ र स्वतन्त्र १ सांसद निर्णायक हुन्छन् । उहाँहरुले पनि नाउपाको दह्रो समर्थन भए सरकारमा जान सकिने आसय व्यक्त गर्दै आएका छन् ।
उता, नयाँ गठबन्धनका एमाले माओवादी पनि केन्द्रको सहमती पर्खेर बसेका छन् ।