Dashain Suvakamana

गेटमा ठूलो ब्रेकथ्रू : अस्पतालसँग सम्बन्धित भवन हस्तान्तरण

Ajai

धनगढी । गेटा अस्पताल सञ्चालन र विस्तारका लागि ठूलो ब्रेकथ्रू भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरु गेटा अस्पताललाई हस्तान्तरण गरेको छ।

गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले आइतबार अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन हस्तान्तरण कार्यक्रमपछि डा सापकोटाले अस्पतालको सेवा विस्तारका लागि यो निकै ठूलो सफलता भएको बताए। ‘यो अस्पतालको सेवा विस्तारका लागि ठूलो ब्रेकथ्रू हो,’ उनले भने, ‘अब अस्पतालको सेवा विस्तारको काम तीव्र रुपमा अगाडि बढ्ने छ।’

उनका अनुसार अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्। अस्पताल भवन-१, लण्ड्री हाउस भवन- १, अटोक्लेभ भवन- १, कुरुवा घर- १, शव गृह – १, अक्सिजन प्लान्ट- १ गरी जम्मा ६ वटा भवन तथा उक्त भवनहरु संग अन्तर सम्बन्धित पानी, विजुली, सन्चार, एसी सिस्टम, अक्सिजन सप्लाई सिस्टम लगाएतका लागि जडान भएका उपकरण मेसिनरी सामान तथा फर्निचर लगायतको प्रयोग गर्ने गरी हस्तान्तरण गरेको छ।

गत कात्तिक १ गतेदेखि सेवा सञ्चालनमा आएपनि अस्पताल सञ्चालनका लागि लामो समयदेखि भवन हस्तान्तरण नहुँदा गेटामा सेवा सुरु हुन समस्या भइरहेको थियो। भवन प्राप्त गरेसँगै अस्पतालका लागि आवश्यक संरचना निर्माण प्रक्रिया अगाडि बढाउँदै सेवा विस्तारको काम सुरु हुने डा सापकोटाले जानकारी दिए।

झन्डै १५ वर्षदेखि घोषणामै सीमित गेटा मेडिकल कलेजका भौतिक संरचना निर्माण लगभग पूरा भएको छ। भौतिक संरचना निर्माणसँगै सुरुमा ३ सय बेडको अस्पताल सुरु गरेर प्रतिष्ठान बनाउने प्रक्रियाअनुसार सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम दिएको छ।

पछिलो समय गेटालाई मेडिकल कलेज, प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय भन्ने विवाद लामो समयदेखि चल्दै आइरहेको छ। विश्वविद्यालयको विधेयक पनि तयार भइसकेको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भइसकेको र प्रतिनिधि सभामा पठाइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.