धनगढी । नेकपा माओवादी र एकीकृत समाजवादीका मन्त्री हटाएर आफै अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसद लिएर बहुमत पुर्याउन भगीरथ प्रयत्नमा छन्।
बिहीबार अबेर रातिसम्म नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, राप्रपा, स्वतन्त्र सांसद तारा जोशीसहितको चार पक्षबिच छलफल चल्यो । छलफलमा नाउपाले ग्रीन सिग्नल दिइसकेपछि मुख्यमन्त्री शाह स्वतन्त्र सांसद जोशी र राप्रपाकी एक्लो सांसद खिमादेवी विष्टमा केन्द्रित भएका छन् । तर अन्तिम समयमा खिमादेबी विष्ट केन्द्रका निर्णय पर्खिने अडानमा बसेपछि मुख्यमन्त्री शाह रोकिएका हुन् ।
अझै प्रदेश सरकारमै रहेको नाउपासहित स्वतन्त्र सांसद जोशी र राप्रपाले सहयोग गरेको अवस्थामा मुख्यमन्त्री शाहलाई सुविधाजनक बहुमत पुग्छ । राप्रपा तयारको भएको अवस्थामा आजै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस स्रोतले बतायो । यसकालागि अछाम जानलागेका प्रदेश प्रमुखलाई डडेलधुराबाटै धनगढी फिर्ता बोलाईएको छ।
समाजवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहसँग अब २६ जनाको मात्रै समर्थन छ । नेपाली काँग्रेसका १८ जना, नागरिक उन्मुक्तिका ७ र १ जना स्वतन्त्र सांसद जोशी गरी २६ जना सांसदले उनलाई समर्थन गरेका छन् । यहाँ बहुमतको सरकार बनाउन २७ सिट आवश्यक पर्ने हुँदा मुख्यमन्त्री शाह राप्रपा सांसदलाई साथमा लिन अन्तिम कसरतमा जुटेका हुन्।