
महेन्द्रनगर । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ। जिल्ला अदालत कञ्चनपुरबाट २०५२ साल फागुन २७ गते भएको कुटपिट मुद्दाको फैसलाबाट दोधारा चादँनीका गिरीसहित छजनालाई जरिवाना तोकेको थियो।
सो मुद्दामा सोही समयदेखि फरार रहेका रत्ना गिरी, तुल्सी गिरी, झिरकुली वन, राधा वन र भाखा सिंहलाई दोधारा चादँनीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप कानुनी कारबाहीका लागि अदालत पेस गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अभियुक्तलाई स्थानीय घर ठेगानाबाटै पक्राउ गरिएको हो। तत्कालीन फैसलामा अदालतले रु दुई सयदेखि चार सयसम्म जरिवाना तोकेको थियो।
जिल्ला प्रहरी कार्यालयको प्रमुखमा प्रहरी उपरीक्षक चक्रराज जोशीले फरार अभियुक्त पक्राउ गरी कानुनी दायरामा ल्याउने क्रमले गति लिएको बताए। तीन दिनको अवधिमा मात्रै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट फरार रहेका २५ जनालाई कारबाहीको दायरामा ल्याएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले कुटपिट, अभद्र व्यवहार, जबर्जस्ती करणी, सवारी ज्यानलगायतका मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए। त्यसैगरी पाँच दिनअघि पनि प्रहरीले जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट फैसला भएका मुद्दाका १० जना फरार अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। विसं २०७० मा कुटपिट मुद्दाका दीपक थलाल, रामदत्त भट्ट, राजी थलाल र राम थलाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
