काठमाडौं । आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।
माओवादी केन्द्रका शीर्ष तहका नेताहरुको बैठकले अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी गरेको स्रोतको दाबी छ । यद्यपि यसको अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । आजै एकीकृत समाजवादीको पनि बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले मंगलबार भेटेर सरकारमा सहभागी हुन अनुरोध गरेपछि अध्यक्ष नेपालले पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने जवाफ दिएका थिए ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । बैठकमा मन्त्री चयनको विषयमा छलफल भइरहेको स्रोतले बतायो । आज मन्त्रालय बाँडफाँटको विषयमा सत्ता गठबन्धनको कार्यदलको बैठक बस्ने तयारी छ । मन्त्रालय बाँडफाँटमा सहमति जुटाउन गठबन्धन दलका एक-एक जना नेताहरु सम्मिलित कार्यदल बनाइएको छ । कार्यदलले शीर्ष नेताहरुलाई सिफारिस गर्ने र आजै अन्तिम टुंगो लगाएर नयाँ मन्त्रीहरुको शपथ ग्रहण गराउने तयारी छ ।
‘संसदमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा छलफल गर्नुपर्ने भएको र त्यसका लागि अर्थमन्त्री आवश्यक पर्ने भएकाले सकेसम्म आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ,’ स्रोतले भन्यो । प्रतिनिधि सभाको बैठक बिहीबारका लागि बोलाइएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले र रास्वपासहितको गठबन्धन निर्माण गरेका छन् ।
नयाँ गठबन्धनबाट एमाले, माओवादी र रास्पपाका एक-एक जना मन्त्रीले सोमबार सपथ ग्रहण गरेका थिए । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।