
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको जिम्मेवारी फिर्ता भएसँगै झपटबहादुर साउँदले सरकारी निवास छोडेका छन् । गत जेठमा मन्त्री भएको एक हप्तापछि निवास छिरेका साउँदले आज दिउँसो मन्त्रालयका स्टोरकिपर बोलाएर सरसमान बुझबुजारत गरेका हुन् ।
सरकारी निवास छोड्दै उनले बदलिँदो केन्द्रिय राजनीतिक परिस्थितिका बिच बाम ध्रुवीकरण सहितको आजको नयाँ गठबन्धन निर्माण भएकाले प्रदेश सरकार र प्रदेशको राजनीतिक अवस्थामा वदलाव आएको स्थिति बनेको बताए। त्यसै कारणले नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारबाट माओवादी केन्द्रबाट सहभागी मन्त्रीहरु सरकारबाट बाहिरिनु परेको प्रस्ट्याएका छन्।
उनले भनेका छन- ‘जुन परिस्थिति र समयको उत्तरार्द्ममा साझा उदेश्यका साथ मन्त्रालयको कार्यभार सम्हान जिम्मेवारी प्राप्त भयो त्यही बेला देखिनै जनताका आवश्यकता र अपेक्षा बमोजिम केही सम्झनलायक र जनताका हितमा थुप्रै लोकप्रिय काम भए र केही सुरुवाती चरणमा छन्। त्यसैले पनि दलित,उत्पीडित,महिला,अपांग र सीमान्तकृत समुदायको उत्साहपुर्ण साथ,सहयोग मिल्यो। जसले गर्दा आफुलाई थप जाँगर र उमंग छाएको थियो।’
उनले अगाडि भने- ‘सामाजिक विकास मन्त्रालयको बहालमा रहदा मार्गदर्शन गर्नुहुने मतदाता, सुभचिन्तक सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
