धनगढी। धनगढीको ६ लेन सडकमा स्ट्रीप लाइट जडान गरिएको छ। आइतवार साँझ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले भन्सारदेखि मोहनपुरको ६ लेन सडक क्षेत्रमा उद्घाटन गरेपछि झिलिमिली भएको हो।
यसैगरी, ६ लेन सडकको २६५ पोलमा स्ट्रीप लाइट जडान गरिएको छ। ६ लेन सडकको १४० वटा ट्रीगार्डमा पनि स्ट्रीप लाइट जडान गरिएको छ। उपमहानगरपालिकाले आफ्नो लगानीमा विमानस्थल सडकमा ५६ वटा सडक बत्ती जडान गरेको छ।
विमानस्थल सडकमा करिब १० लाखको लागतमा सडक बत्ती जडान गरिएको र ६ लेन सडकमा ३१ लाखको स्ट्रीप लाइट जडान गरिएको नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताइन्। उनले करिब ३ लाख लागतमा भन्सारमा गेटमा फ्लोड लाइट जडान भएको बताइन्।
स्ट्रीप लाइटको उद्घाटन गर्दै भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले धनगढीलाई सुन्दर सहर बनाउन तीनै तहको सरकारको सहकार्यमा विकास निर्माणका काम भइरहेको बताए। उनले ६ लेन सडकमा जडान गरिएको स्ट्रीप लाइटले रात्रिकालिन सौन्दर्यलाई बढाउने बताए। स्ट्रीप लाइट उद्घाटन कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, वडा अध्यक्ष र सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह खाती, नगरपालिकाका कर्मचारी र सर्वसाधारणको उपस्थिति रहेको थियो।
स्ट्रीप लाइट जडान पश्चात् ६ लेन सडकको सुन्दरता थप बढेको भन्दै सर्वसाधारणले खुशी व्यक्त गरेका छन्।