धनगढी। कैलालीको सुखडमा जारी एमालेको नवौँ जिल्ला अधिवेशन लम्बिँदै गएको छ । ६ र ७ गते चल्ने भनिएको अधिबेशनमा जिल्लाध्यक्षमा सहमति गर्ने नाममा महाधिवेशन लम्बिँदै गएको हो ।
उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहानसम्म पनि सहमति नजुटे निर्वाचन प्रक्रिया थाल्न निर्देशन दिएका भएपनि कैलाली अधिवेशनमा पार्टी अध्यक्षले दिएको निर्देशनको पालना भएको छैन । ‘पहिलो दिन सहमतिको प्रयास गर्नु, सहमति नभए दोस्रो दिन (७ गते) बिहान मतदानका लागि बाकस थाप्नु । प्रतिनिधिलाई धेरै समय दुविधामा राख्नु हुँदैन । अब्बल नेतृत्व चयन गर्न प्रतिनिधि पनि जिम्मेवार बन्नुपर्छ,’ ओलीले भनेका थिए।
एमाले पोलिटब्युरो सदस्य एवं कैलाली इन्चार्ज गणेशसिंह ठगुन्नाले सहमतिको अधिकतम प्रयास भइरहेकाले समय लागेको प्रतिक्रिया दिए । ‘हामीले ढिला गरेका छैनौँ । सहमतिबाट नेतृत्व चयन गर्दा तीन दिन र निर्वाचन प्रक्रियामा जाँदा ५ दिनसम्म लाग्न सक्छ,’ उनले भने ।
केन्द्रीय सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारीलगायत केन्द्रीय नेताहरूले अधिवेशन स्थल छोडेका छैनन् । उम्मेदवारहरूले पनि आ–आफ्नो दाबी नछोडेपछि नेतृत्व चयनमा झन् रस्साकस्सी बढेको छ ।