छोराप्रति बुवाको सुवेक्षा: मानवीय सम्बेदनायुक्त हुनु

राजेन्द्र साउँद 

जीवनमा ठूलोभन्दा पनि असल व्यक्तिको रूपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैं रहनेछ। तिम्रो हुर्काइलाई जीवनको प्रथम शिक्षालयको रूपमा लिँदै संसारलाई चिन्ने र बुझ्ने सकारात्मक नजर, अनि त्यो संसारमा कसैको नजरमा नबिझाउने सुयोग्य पात्रका रूपमा तिमीलाई स्थापित गर्न हाम्रो हरसम्भव प्रयास रहनेछ। मात्र तिमीले हाम्रो यही मनोकांक्षा मिश्रित ताते तातेकै लयमा आफ्नो चाल अघि बढाइरहनु छोरा, यो हाम्रोमात्र होइन तिम्रो हजुरबुवा, हजुरआमा र सकल परिवारकै चाहना हो।

थाहा छ, तिम्रो हजुरबुवाको आँखामा पनि तिम्रा लागि कैयौं सपनाहरू छन्, जुन पूरा हुने दृढ विश्वासमा उहाँ अडिग हुनुहुन्छ। अध्यात्म, नैतिकता र संस्कार प्रेमलाई आत्मसाथ गर्दै जीवन कलात्मक र सफल रूपले जिउने अभ्यासमा अभ्यासरत तिम्रो हजुरबुवाको सपनालाई साकार पार्दै तिमीले मानवीय संवेदनाप्रति सदैव सजग रही आदरभाव, सेवाभाव अनि परोपकारी मनमार्फत् सबैको मन जित्न सक्ने एक असल व्यक्ति बन्न सक्नुपर्नेछ।

तिमीलाई याद दिलाउन चाहन्छु कि, एक नवजात शिशु जन्मँदा छोरालाई मात्र प्राप्त हुने ‘छैंठीको संस्कार’ मार्फत् छोरा र छोरीबीचको विभेदपूर्ण व्यवहार प्रारम्भ गर्नमा अभ्यस्त हाम्रो समाजमा पुरूषत्वको गर्व कुसंस्कार र बाहुबली स्वभावमा होइन, आफ्नो सुझबुझ र समयसापेक्ष बुद्धिमतापूर्ण व्यवहारमा हुन्छ भन्ने सकारात्मक सोचलाई अंगिकार गर्दै, नारीप्रतिको सम्मान र समभावपूर्ण व्यवहारबाट सच्चा पुरूषको परिचय निर्माण गर्नमा सदैव अग्रसर हुनू।

कुनै पनि नारीलाई नारी भएकै कारण तिम्रो व्यवहारबाट आजित हुन नपरोस् अनि तिम्रो उपस्थितिले असहजता होइन हरेक नारीलाई सुरक्षित महशुस गराओस्, साथै तिमीलाई आफू पुरूष भएकोमा यस कुराले गर्व होस्, तिमीलाई मेरो सुवेक्षा।

तिमीले यस मूलमन्त्रको अभ्यास आफ्नै मामुको सम्मान र आदरभावबाट गर्नुपर्नेछ। किनकि आफूलाई जन्म दिने आमा ती हुन्, जसले सन्तानको सुख र खुसीका लागि आफ्ना सयौं खुसीको तिलाञ्जली दिएकी हुन्छिन्। जसरी मलाई मेरा आमाहरूप्रति गर्व र आदरभाव छ तिमीलाई त्योभन्दा पनि बढी हुनुपर्छ बाबु। तिम्रो सफल भविष्यको कल्पना गरिरहँदा अहिलेको पछिल्लो पुस्तामा देखिएको अस्थिरता, विचलन, असामाजिक व्यवहार र भर्चुअल प्रेमले कताकता डर पनि लागिरहन्छ कि, तिम्रो समयसम्म खै कस्तो हुने हो भनेर।

मलाई तिमी पनि समयसापेक्ष प्रविधिमैत्री भएको हेर्न मन छ तर प्रविधिको साँघुरो परिधिभित्रै समेटिएको भने हेर्न मन छैन, त्यसैगरी किताबी ज्ञानभन्दा व्यवहारिक ज्ञानमा पोख्त भई देश-विदेशसम्म फैलिएको हेर्न मन छ। त्यो सँगसँगै अन्य धेरै अभिभावकको चाह जस्तै तिमीलाई पनि धैर्यवान, दूरदर्शी र असल संस्कार सहितको साक्षर र सफल व्यक्तिको रूपमा हेर्न मन छ। आशा छ, तिमीले मेरो कुरालाई पछि बुझ्नेछौ र अवलम्बन गर्नेछौ।

तिम्रो प्रथम जन्मोत्सवमा मेरो भौतिक उपस्थिति त हुन सकेन तर मेरा सुवेक्षाहरू र शुभ-आशीर्वाद सदा तिमीसँगै छ। जसरी हिजो तिम्रो हजुरबुवा र हजुरआमाले हाम्रा लागि संघर्ष गर्नुभयो आज त्यस्तै मार्गमा हामी दौडिरहेका छौं। हरेक अभिभावकले आफ्ना सन्ततीको सुन्दर भविष्यका लागि कहिले आफ्ना खुसीसँग सम्झौता गर्दछ त कहिले उनीहरूको लागि खुसी बटुल्छु भन्दै टाढा-टाढासम्म भौंतारिने गर्दछन्। ठिक त्यस्तै परिस्थितिमा छु म बाबु, यो कुरा भोलि बुझ्ने भएपछि सबै बुझ्नेछौ तिमीले।

यसपटकको तिम्रो जन्मदिनमा तिमीसँग हुन सकिनँ त के भो, आउने थुप्रै जन्मदिनहरू प्रेमका स्पर्श सहितका थुप्रै खुसी साट्दै मनाउला नि! फेरि तिम्रो मामु अनि पूरै परिवारको अपार मायाले तिमीलाई मेरो अभाव खड्किन दिएको पनि त छैन। थाहा छ अर्को कुरा, हाम्रो सिंगो परिवारमा तिम्रो अवोधपन मिश्रित हरेक क्रियाकलापले कम्ति रौनक थपेको छ।

तिम्रो हजुरबुवा र हजुरआमालाई तिम्रा हरेक क्रियाकलाप मैले सानो छँदा गरेजस्तै लाग्छ रे, तिम्रो मामु मसँग टाढा भएर बस्नुपरेको न्यास्रो तिमीसँगै भुलेर मेटाउने गर्छ रे, मेरो सामिप्यताको अभाव महशुस गर्ने तिम्री दिदीलाई तिम्रो साथले भरपुर आनन्द दिएको छ रे। अनि यो सब कुरा सुनेर मेरो मन हर्ष-विभोर हुने मात्र होइन मलाई आफू कोसौं टाढा भएको अनुभूतिसम्म हुँदैन।

जे होस्, यो सबमा तिमी नै त कारणको रूपमा रहेका छौ। यसरी नै सधैं हाम्रो परिवारको खुसीको कारण भइरहनु है। हाम्रोमात्र होइन सिंगो देश र आफ्नो ठाउँ, समाजका थुप्रै दुखेका मनहरूको समेत खुसीको कारण बन्न सक्षम हुनू, आशीर्वाद छ तिमीलाई।

फेरि पनि भन्छु छोरा, जिन्दगीमा ठूलो मान्छे होइन असल मानिस बन्नू, तिम्रो बाबाको तर्फबाट तिमीलाई जन्मदिनको धेरै धेरै शुभकामना…..!

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.