आयात निर्यात घटेपछि कैलालीमा राजस्व संकलनमा कमि

धनगढी। सुदूरपश्चिमको प्रमुख भन्सार नाका कैलाली भन्सार नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब ७ करोड ७२ लाख मुल्य बराबरका विभिन्न सामानहरु आयात गरिएको छ।

गत आर्थिक वर्षको सोहि अवधिमा ८ अर्ब ७ करोड २० लाख मुल्यका मुख्य १० वस्तु आयात भएको भन्सार कार्यालय कैलालीको तथ्यांक छ। पछिल्लो समय आयात निर्यात दुबै घटेको पाइएको हो। आयातमा कमि आउँदा त्यसको असर राजस्व संकलनमा परेको छ। गत वर्षको सोहि अवधिसम्म दुई अर्ब ९३ करोड राजस्व असुली भएकोमा चालु वर्षमा दुई अर्ब ८१ करोड मात्रै असुल भएको छ।

त्रिनगर भन्सार नाकाबाट सबैभन्दा बढी आयात हुनेमा डिजेल पनि गत आर्थिक वर्षभन्दा ३९२ किलोलिटरले कम आयात भएको छ। गत वर्ष ३४ हजार २० किलोलिटर डिजेल आयात भएकोमा यो वर्ष ३३ हजार किलोलिटर मात्रै आयात भएको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनामा १३ हजार किलोलिटर पेट्रोल आयात भएकोमा सो अवधिमा १३ हजार ३६८ किलोलिटर आयात भएको छ। यसबाट एक करोड चार लाख रुपैयाँले राजस्व बढेको हो।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा ४५ करोड ९६ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २९ करोड २३ लाख रुपैयाँका सामान मात्रै निर्यात भएको छ। नगण्य मात्रामा भइरहेको निर्यातमा पनि १६ करोड ७२ लाखले घटेको छ। निर्यात ३६ दशमलव ३९ प्रतिशतले घटे पनि निर्यातबाट संकलन हुने राजस्व भने दुई करोडले बढेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.