धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरु तत्काल फेरबदल नहुने आश्वाशन प्रचण्डले दिएका छन् । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हारगुहार माग्न बालुवाटार पुगेका सुदूरपश्चिम प्रदेशका माओवादी मन्त्रीसहितका नेताहरूलाई यस्तो आश्वाशन दिएका हुन् ।
बहुमत प्रदेशसभा सदस्यहरूले सुदूरपश्चिममा माओवादी दलको नेता खगराज भट्टलाई परिवर्तन गरेपछि भट्टसहित मन्त्रीहरुको समुहले शुक्रबार प्रचण्डसँग भेटबार्ता गरेको छ। नेता खगराज भट्ट सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम चौधरी उत्सव र प्रचण्ड बुहारी समेत रहेकी नेतृ विना मगरले प्रचण्डलाई भेटेर समसामायीक विषयमा जानकारी गराएका हुन् ।
हरिराम चौधरी, खगराज भट्ट, रमेश धामी, बिना मगर लगायतले सुदूरपश्चिम प्रदेश माओवादीमा अहिले समस्या देखिएको र केन्द्रबाट यस विषयमा हस्तक्षेप गर्न आवश्यक रहेको बताएका थिए । लेखराज भट्ट एमाले भएपछि कमजोर भएको पार्टी खगराज भट्टलाई दलको नेताबाट हटाएर थप कमजोर बनाउन लागेको प्रदेश अध्यक्ष चौधरीले प्रधानमन्त्रीलाई बताएका थिए । उनले पछिल्लो घटनाक्रमले राम्रो सन्देश नदिएको बताएका थिए।
स्थायी कमिटी सदस्य समेत रहेका भट्टले आफू माथि अन्याय भएको जिकिर गरे । ‘मेरो राजनैतिक जीवनको इतिहासमा सबै भन्दा ठूलो धक्का खाए’ उनले प्रचण्डलाई सुनाए।
सबैको कुरा सुनेपछि प्रचण्डले तत्काल मन्त्रीमण्डल फेरबदल नहुने बताएका थिए । बहुमत प्रदेश सभा सदस्यहरूसँग संसदीय दलको नेता हेरफेर गरेपछि भेट नभएको भन्दै यस विषयमा केन्द्रीय समिति बैठकपछि थप छलफल हुने बताए । त्यो भन्दा पहिले मन्त्रीहरू हेरफेर नहुनेमा आश्वस्त हुन प्रचण्डले भनेका थिए।
माओवादी अध्यक्ष प्रचण्डले खगराज भट्टलाई अन्याय हुन नदिने पनि बताए । यस विषयमा दुबै पक्षसँग बसेर छलफल गरेर निकास दिने प्रचण्डको भनाई थियो । अघिल्लो शुक्रवार माओवादी बहुमत प्रदेश सभा सदस्यहरूले खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर मानबहादुर धामीलाई चयन गरेका थिए।
शुक्रवार दुई मन्त्री, दुई सांसद र दुई नेताले प्रचण्डलाई सुदूरपश्चिम प्रदेशको विषयमा थप जानकारी गराएपछि अब दुबै पक्षसँग बसेर थप छलफल हुने देखिएको स्रोतले बताएको छ ।