धनगढी। सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी मालले पार्टीले फिर्ता बोलाएको अवस्थामा तत्काल राजीनामा दिन तयार रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रबाट राज्यमन्त्री बनेकी गीतादेवीले मन्त्रालयभित्रको जिम्मेवारी नपाएको भन्दै यस्तो प्रतिक्रिया दिएकी हुन् ।
आफ्नो पार्टी नेतृत्व र आफ्नै विभागीय मन्त्री रमेश सिंह धामीसँग रुष्ट गीतले भनिन् मन्त्रालयको क्षेत्र फराकिलो छ । जिम्मेवारी बाँडफाँडको लागि मन्त्रीज्यूसहित सबै तहमा कुरा राखेकी थिएँ । तर केही भएन । राज्यमन्त्री बने पनि केही जिम्मेवारी नभएपछि के को राज्यमन्त्री ? म यहीँ लडाइँमा छु । पार्टीले फिर्ता बोलाएको अवस्थामा जतिबेला पनि राजीनामा दिन तयार छु । कामै नभएको पदमा बसेर के गर्नु ?’
मन्त्रालयभित्रको जिम्मेवारी नपाएको भन्दै संसदीय दलको नेता फेर्नेदेखि सरकारमा रहेका आफूसहितका मन्त्रीहरू फिर्ता गर्नुपर्ने मोर्चामा हिँड्ने गरेकी छिन् । उनी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहाँ मन्त्री फेरबदल गर्ने प्रस्ताव लिएर पुगेकी थिइन् । गत पुस १९ गते प्रदेश सरकारको विषयलाई लिएर सभामुख भीमबहादुर भण्डारी, राज्यमन्त्री गीतादेवीसहित ६ जनाले प्रधानमन्त्रीलाई भेटेका थिए ।
राष्ट्रिय सभा निर्वाचन निर्वाचन लगत्तै सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र संसदीय दलको नेता नै फेरिए । खगराज भट्टलाई हटाइँदै मानबहादुर धामीलाई नेता बनाइयो । अब सरकारमा रहेका ३ जना मन्त्रीलाई पनि फिर्ता बोलाउने तयारी रहेको बताइएको छ । यद्यपि मन्त्रीहरूलाई फिर्ता गरिने अवस्था नरहेको दलका नेता धामीले प्रतिक्रिया दिँदै आएका छन्।
मुख्यमन्त्री शाहले २०८० जेठ ६ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने गरी झपट साउदलाई सामाजिक विकास मन्त्री, रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र गीतादेवी माललाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको थियो ।