धनगढी। कैलाली जिल्लाको भादामा सञ्चालित थारू होमस्टे (घरबास) भ्रमणमा पुगेका मुख्यमन्त्री कमलबहादुर शाहले थारू भाषामा ‘महिन आकुर सिन्किक् टिना देऊ’ (सिन्कीको तरकारी अझै दिनुहोस्) भने। थारू समुदायको रैथाने परिकार ढिक्री र सिन्की आफ्नो मन पर्ने परिकार भएकाले थपेर खाएको भनाइ उनको छ ।
थारू भाषा तथा संस्कृतिसँग चिरपरिचित मुख्यमन्त्री शाहका लागि थारू परिकार कुनै नौलो चिज थिएनन् । तर ढिक्री र सिन्की परिकारको स्वादको पारखी भएकाले थपेर खान करै लागेको उहाँ बताउनुहुन्छ । ढिक्री र सिन्की विशेष गरेर चाडपर्वका बेला बनाइने परिकार हुन । थारू होमस्टे भादामा यही परिकार सदाबहार र सबैको रोजाइमा पर्ने गरेको छ ।
होमस्टे पुगेका अधिकांश पाहुना तथा आगन्तुकको पहिलो रोजाइ तथा खुराक नै ढिक्री र आलु सिन्कीको तरकारी हुने गरेको बताइन्छ । नास्ताका रूपमा पनि ढिक्री र सिन्की खुवाइने गरिएको छ । चामलको पिठोबाट बनेको ढिक्री र गाउँमै उत्पादित आलुबाट बनेको सिन्कीको तरकारी अर्गानिक रहेको भादाका होमस्टे सञ्चालक बताउँछन् ।
मुख्मन्त्री शाह मात्रै हैनन पहिलो पटक भादा गाउँ पुगेका नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष गजुरधन राईले थारू समुदायको खानाको परिकार अन्य समुदायको भन्दा छुट्टै रहेको उल्लेख गरे ।