डोटी । माघ महिना सुरु भइसक्दा समेत वर्षा नहुँदा डोटीका ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्न थालेको छ । जिल्लाका विभिन्न क्षेत्रमा किसानले खेतमा लगाएको गहुँ, मसुरो, तोरीलगायतको हिउँदे बाली सुक्न थालेको हो ।
सिँचाइको अभावमा कतिपय स्थानमा गहुँ उम्रिनसमेत सकेको छैन । गहुँ लगाइएको खेतबारी बाँझो हुन थालेपछि स्थानीयलाई भोकमरी हुने चिन्ताले सताउन थालेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका –२ बग्लेगका स्थानीय रामबहादुर वलीले भने, “अरु बेला यो समयसम्म दुई–तीन पटक हिउँपरि सक्थ्यो, यो वर्ष त कात्तिक यता पानी नै परेन । लगाइएको गहुँ उम्रिएको छैन । यो वर्ष त भोकमरी हुने डरले सताउन थालेको छ ।”
जिल्लामा धेरैजसो खेतीयोग्य जमिनमा अझै सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा भएका स्थानमा समेत पानीको मुहान सुकेका कारण सिँचाइ सुचारु हुन नसकेको छैन । खानेपानीकै मूल पनि सुक्न थालिसके सिँचाइ हुने कुरै भएन । बाँझो जमिन देखेर के गरी खाने होला भन्ने चिन्ताले सताउन थालेको उनीहरुको भनाई छ ।
कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीका अनुसार जिल्लामा १४ हजार २ सय १९ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नभएका कारण किसानले आकाशे पानीको भर पर्नुपरेको छ । डोटी जिल्लामा १४ हजार २ सय ९० हेक्टरमा गहुँ खेती गरिँदैआएको छ ।
सिँचाइ सुविधा भएका क्षेत्रहरुमा गहुँ बाली जोगिए पनि लेकाली र सिँचाइ सुविधा नभएका क्षेत्रमा माघ महिनामा पनि बर्षा नभए गहुँ उत्पादन असर पर्ने बताइएको छ ।