थारू समुदायमा माघी पर्वको उल्लास सुरु

धनगढी । माघ महिना नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा माघी पर्वको उल्लास बढेको छ । थारू समुदायमा धार्मिक, आर्थिक तथा सामाजिक हिसाबले माघी पर्व निकै महत्त्वपूर्ण मानिन्छ ।

माघ महिनाबाट थारू समुदायमा नयाँ वर्षको सुरुवात हुन्छ । समाजमा नयाँ नेतृत्व चयन गरिन्छ । यो पर्वमा ठुलाबडाबाट आशीर्वाद लिइन्छ । विभिन्न सामाजिक बन्धनबाट पनि मुक्त हुने हुँदा स्वतन्त्रताको पर्वका रूपमा पनि माघ मनाइन्छ । यसको पूर्वसन्ध्यामा विभिन्न ठाउँमा आयोजना हुने माघ मेला, महोत्सव झनै रौनक बढाउँछ । त्यसमा नाचिने मघौटा, झुम्रा, सखिया नाच, गाइने ढमार गीतले गाउँबस्ती नै माघको उल्लासको रसमा झुमिरहन्छन् ।

माघी पर्वमा बङ्गुरको मासुको विशेष परिकार बनाइन्छ । त्यसैले हप्ता दिन पहिलेदेखि गाउँघरमा बङ्गुरको किनबेच बढिइरहेको छ । यो पर्वमा ढिक्रीको परिकार अनिवार्य चाहिन्छ । त्यसका लागि मिलमा चामलको पिठो पिसाउनेहरू बढेका छन् । कामको सिलसिलाले घरभन्दा बाहिर रहेका र विवाहित चेलीहरू पर्व मनाउन माइती घरमा आउने भएकाले उल्लास थपिँदै गएको छ ।

आमनेपालीले माघ १ गतेलाई माघेसङ्क्रान्तिका रूपमा आआफ्नै रीति संस्कृतिअनुसार मनाउँछन् । उनीहरुले विशेष गरी घिउ, तरुल, चाकुका परिकारहरु खाने गर्छन् । तर दाङदेखि कञ्चनपुरसम्मका थारू बस्तीमा भने पुस महिनाको अन्तिम दिनदेखि माघ २ गतेसम्म यो पर्व मनाइन्छ । यद्यपि पछिल्लो समय कामाडौँ उपत्यका तथा विदेशमा समेत माघ मनाउन थालिएको छ । थारू बस्तीमा पुसको अन्तिम दिन नै बङ्गुरको जिटा सामूहिक रूपमा काटिन्छ । पर्वको विधिवत् सुरुवात गरिन्छ ।

३ दिन सार्वजनिक बिदा

माघी पर्व मनाउन कैलालीको कैलारी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.