धनगढी। चेक बाउन्स भए बैकिङ कसुरमा मुद्दा लाग्छ। यही कसुर अन्तर्गत कैलालीमा ६३ मुद्दा दर्ता भएका छन्। कैलाली प्रहरीमा चालु आर्थिक वर्षको पौष दोस्रो सातासम्म बैकिङ कसुरका ६३ मुद्दा दर्ता भएका हुन्। जुन गत आर्थिक वर्ष २०७९/८० मा यस्तो संख्या एक सय तीन थियो।
बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) मा आफ्नो खातामा मौज्दात रकम नभएको जानी–जानी चेक काटी दिनुलाई कसूर मानेको छ। सर्वोच्चले चेक बाउन्सको मुद्दा बैंकिङ कसूर नै भएको तर पीडितले नै विनिमय अधिकारपत्र ऐन, २०३४ अनुसार कानुनी उपचार खोज्न भने पाउने उल्लेख गरेको छ।
चेक बाउन्समा विनिमय अधिकारपत्र ऐन ३०३४ र बैंकिङ कसुर तथा सजाय ऐन २०६३ दुवैले सजायको व्यवस्था गरेका छन्। विनिमयपत्र अधिकार ऐनको दफा २०७ (क) मा भनिएको छ, ‘बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंक समक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंकबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लेखित रकम र ब्याज समेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।’
त्यस्तै बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ले भने तीन महिना कैद, बिगो भराउने र बिगो बमोजिम जरिवाना गर्ने सजायको व्यवस्था छ। कैलालीमा बैंकिङ कसुरका मुद्दा दैनिक रुपमा बढ्न थालेको देखिन्छ।