काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनमा भागबण्डा टुंगिएको छ । सहमति अनुसार कांग्रेसले सबैभन्दा बढी १० सिट भाग पाएको छ भने माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा भाग पाएको छ ।
कोशी प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने भएको छभने महिलातर्फ माओवादीको उम्मेदवारी रहने छ । यस्तै मधेस प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने तयारी हुँदा महिलातर्फ जसपाले उम्मेदवार खडा गर्ने छ । यसैगरी गण्डकीमा कांग्रेसले खुला र महिलातर्फ उम्मेदवारी दिने छ भने माओवादीले अपाङ्ग कोटामा उम्मेदवारी दिने छ । लुम्बिनीमा कांग्रेस महिलातर्फ उम्मेदवारी दिँदा माओवादीले खुलातर्फको उम्मेदवार बनाउने छ । यस्तै सुदूरपश्चिममा कांग्रेस खुला र अपाङ्गतर्फ उम्मेदवारी दिने छ भने माओवादीले महिलातर्फको उम्मेदवारी दिने छ ।
कांग्रेस नेता रमेश लेखकका अनुसार बागमती र कर्णाली प्रदेशमा क्लस्टरको अन्तिम टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले २ सिटमा चित्त नबुझाएपछि बाग्मती र कर्णालीको क्लस्टर टुंगिन बाँकी रहेको हो । ‘दुई सिटमा चित्त बुझाएर आउँदा क्लस्टर छान्ने एकीकृत समाजवादीलाई पहिलो प्राथमिकता छ । त्यही अनुसार यी दुई प्रदेशको टुंगो लाग्छ ,’ उनले भने । अहिले कांग्रेसले खुला र महिलातर्फको उम्मेदवारी दिने सम्भावना छ ।
यस्तै माओवादीले अपाङ्ग र एकीकृत समाजवादीले दलित पाउने छ । यस्तै कर्णालीमा कांग्रेसले दलित, माओवादीले खुला र एकीकृत समाजवादीले महिलातर्फ उम्मेदवार दिने समझदारी बनेको छ ।