
अछाम। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउँदले रामारोशनको समग्र बिकासकालागि आफु प्रतिबद्ध रहेको बताएका छन् । मन्त्रालयअन्तरगत अछाममा सञ्चालित विभिन्न सरकारी तथा सार्बजनिक योजनाहरुको अनुगमन निरीक्षण र निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाट कार्यक्रममा सहभागी हुनको लागि यहाँ आउनुभएका मन्त्री साउँदले यस्तो बताएका हुन् ।
सुदूरपश्चिमकै विकट अछाम २ नम्बर क्षेत्रको प्रदेशसभा निर्वाचन क बाट निर्वाचित जनप्रतिनिधि मन्त्री हुनेमा उनी पहिलो भएकाले पनि जनताको अपेक्षा र भरोसा उनीमाथि बढी देखिएको छ । उनको टोलीलाई ठाउँ ठाउँमा बाजागाजा सहित स्वागत र सत्कार गरिएको छ । रामारोसन गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटनमा उनलाई १० किलोको फूलमाला पहिराइएको छ ।
यस क्षेत्रका समस्या र चुनौतिबारे जानकार मन्त्री साउँदले यहाँका मिल्लेख, बान्नीगढी जयगढ, कमलबजार, रामारोसन लगायतका ठाउँमा विविध विकास निर्माणको सिलन्यास तथा उद्घाटन गर्दै जनमतको कदर गर्ने बताएका हुन् । उनले ऐतिहासिक एवं पर्यटकीय भूमी रामारोसनको पूर्वाधार निर्माण गरी सो ठाउँलाई रारा, खप्तड, मालिका, बैजनाथ लगायतका क्षेत्रसँग जोडेर सडक निर्माण गर्ने पहलमा आफु रहेको बताए ।
सामाजिक विकास विना समृद्धि असम्भव ठानेर जनताको शिक्षा, स्वास्थ्य, रोजगारलाई पनि उच्च प्राथमिकतामा राखेर नीतिगत रुपमै काम अगाडी बढाएको बताए ।
