धनगढी। जिपको ठक्करले एक प्रहरी जवानको मृत्यु भएको छ। पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जिपले बाँकेको कोहलपुरमा ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको मृत्यु भएको हो। जिपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो।
जिपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन्। उनको कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिए। गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जिपले ठक्कर दिएको थियो।
घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ। ठक्कर दिएर फरार भएका जिपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ।