धनगढीका निजी अस्पतालले विपन्न,असहायको नि:शुल्क उपचार गर्ने

धनगढी । धनगढीमा संचालन रहेका सबै निजी अस्पतालहरूले विपन्न, असहाय र बेवारिसेहरूको नि:शुल्क उपचार गर्ने भएका छन् । मंगलबार धनगढी उपमहानगरपालिका र निजी अस्पताल बिच लक्षित वर्गलाई नि:शुल्क उपचार गर्ने सहमति भएको हो। निजी अस्पताल र उपमहानगरपालिका बिच भएको सम्झौतामा निजी अस्पतालहरूको कुल शय्याको १० प्रतिशत शय्या नि:शुल्क गर्नुपर्ने छ।

यसैगरी, विपन्न,असहाय र बेवारिसे नागरिकलाई अस्पतालहरूले नर्सिङ सेवा, परामर्श सेवा, रेडियोलोजी सेवा र प्याथोलोजी सेवा नि:शुल्क गर्नुपर्ने छ। लक्षित बिरामीहरूले औषधि खरिदमा पनि १० प्रतिशत छुट दिने सहमति भएको निजी अस्पतालको छाता संगठन अफिन सुदूरपश्चिमका अध्यक्ष तिर्थराज पन्तले बताए। सम्झौताअनुसार मंसिर २५ गतेदेखि विपन्न, असहाय र बेवारिसे व्यक्तिको उपमहानगरको सिफारिसका आधारमा धनगढीका सबै निजी अस्पतालहरूमा नि:शुल्क उपचार गरिनेछ,” पन्तले भने।

धनगढी उपमहानगरपालिकाले प्रचलित कानुन बमोजिम लक्षित वर्ग प्रमाणित हुने कागजात रहे नरहेको परीक्षण गरी बिरामीको रोगको प्रकृति र निजी अस्पतालमा मासिक रूपमा बिरामी आउने सङ्ख्याको आधारमा नि:शुल्क उपचार गरिदिनका लागि अस्पतालमा सिफारिस गर्नेछ।

नि:शुल्क उपचार भए नभएको हेर्न उपमहानगरले अस्पतालहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने छ। निजी अस्पतालहरूले १० प्रतिशत शय्या विपन्नका लागि छुट्याउनु पर्ने व्यवस्था रहेको र त्यसको कार्यान्वयन होस् भनेर उपमहानगरले सम्झौता गरेको नगर प्रमुख गोपाल हमालले बताए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.