धनगढी। अपाङ्ता क्षेत्रमा काम गर्दैआएका कोशिश नेपाल र परिलक्षित संस्थाद्धारा कैलालीको धनगढी उपमहानगरमा सञ्चालित गतिविधीको स्थानीय जनप्रतिनिधि र सरोकारवालाले अनुगमन गरेका छन् । उप–प्रमुख नन्दकला रानाको नेतृत्वमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाको टीमले आइतबार अनुगमन गरेको हो ।
अनुगमनका क्रममा परियोजना सल्लाहकारद्धारा कोशिशले वडा नम्बर १० मा गठन गरेको आशा सहयोगी साथी समुहसँग अन्तरकृया गरेको थियो भने परिलक्षित संस्थाले वडा नम्बर ११ मा रहेको दक्षिणकाली बहिरा आधारभूत स्कूलमा छात्रबृति सहयोगमा अध्यायन गरीरहेका विधार्थीहरुसँग छलफल गरेको थियो ।
फिल्ड अनुगमनमा धनगढी उपमहानगर पालिकाका उपप्रमुख नन्दकला राना, शिक्षा शाखा प्रमुख उपसचिव नरेन्द्र बहादुर खाती, महिला तथा बालबालिका शाखा प्रमुख अनिता बुढायर, सामाजिक शाखा प्रमुख टंक विष्ट, स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थी, सहयोगी संस्था फेल्म नेपालका कार्यक्रम संयोजक तृप्ति चौधरी लगायत परिलक्षित संस्था र कोशिश नेपालका कर्मचारीहरु सहभागि रहेको परिलक्षित संस्थाका कार्यक्रम प्रमुख पुष्पा रोकायाले जानकारी दिए ।
अनुगमन पश्चात सोकारवालासँग धनगढीमा गरिएको छलफल कार्यक्रममा वडाअध्यक्षहरुले कार्यक्रममा आफुहरुको साथ सहयोग रहने तर, कार्यसञ्चालन गर्नुपूर्व पनि वडामा आएर समन्वय गर्नुपर्ने आवश्यक रहेको बताएका थिए । कार्यक्रममा कोशिश नेपालका कार्यक्रम प्रमुख खडकराम ओडले कैलाली जिल्लामा रहेका मनोसमाजिक अपाङ्गता भएका ब्यक्तिको क्षेत्रमा संस्थाले गरिरहेका गतिविधिबारे जानकारी गरेका थिएभने परिलक्षित संस्थाका कार्यक्रम प्रमुख पुष्पा रोकायाले अपाङ्गता भएकाको जीवनस्तर उठाउन आयआर्जका कार्यक्रममा सघाइरहेको बताएका थिए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका वडाध्यक्ष लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।