बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–२, पहिरोको जोखिम रहेको बजेडी बस्तीमा पूर्वसूचना दिन मेसिन (साइरन) जडान गरिएको छ । यो बस्तीमा बर्खाको समय निरन्तर पहिरो बग्ने गरेकाले स्थानीयलाई पहिरो आएको पूर्वजानकारी दिन मेसिन (साइरन) जडान गरिएको हो ।
पानी परेको समय पहिरो गएर पुर्छ कि भन्ने डरडरैले आफूहरूले सधैँ बर्खाका रात काट्दै आएको स्थानीय दिनेशराज जैसीले बताए । उनले भने, “अब पहिरो आएको नआएको कुरा पहिला थाहा हुने गरेर गाउँमा पूर्वसूचना दिने मेसिन (साइरन) जडान भएपछि डर हटेको छ ।”
बर्खाको समय पहिरोका कारण यहाँका घर पनि बिस्तारै तल सर्ने गर्दछन् । यसरी घर तल सरेपछि कुन रात आफू पनि पहिरोमा पुरिने हो भन्ने मनमा डर हुन्थ्यो । अहिले गाउँमा दुई वटा पहिरोसम्बन्धी पूर्वसूचना दिने मेसिन (साइनर) मेसिन जडान गरेपछि पहिरो आएको बेला भागेर ज्यान बचाउन सकिने जैसीले बताए ।
२०२२ देखि २०८० सालसम्म बजेडीवासी पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका करिब ९० घरपरिवार विस्थापित भइसकेका छन् । १३५ घरपरिवार अझै पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोका कारण सात हजार रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।