पाल्पा। पाल्पाको तानसेन –१३ रानीमहल नजिकै जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । आइतबार बेलुकी ५ बजेतिर भएको जिप दुर्घटनामा परी नवलपरासी जिल्ला देवचुली नगरपालिका–१६ रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, लम्जुङ् जिल्ला बेसीशहर नपा २ बस्ने ५५ वर्षीया चुना धिताल रहेका छन्।
यस्तै, देवचुली नपा १६ की ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी र साढे दुई वर्षका इशव लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घटनामा परी गम्भीर घाइते चालक देवचुलीकै ३५ वर्षीय ईश्वर लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिए। घाइते लोहनीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप सडकदेखि तल पहाडको खोचमा खसेको थियो ।