धनगढी । नवरात्रिको सातौँ दिन आज शनिबार दुर्गापीठ, दसैँघर, कोत तथा घर घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।
हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्डबाजा, पन्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ । पृथ्वीनारायण शाहले काठमाडौँ राज्यमाथि विजय प्राप्त गरेदेखि नै यो परम्परा छ । यसै दिन रात्रिमा कालरात्रि देवीको पूजा गरिन्छ । यिनै देवीले रक्तबिज नामक दैत्यको संहार गर्नुभएको किंवदन्ती छ ।
सुदूरपश्चिम प्रदेशमा पौराणिक रूपमा रहेका सप्तमातृका सात बहिनी, भाइ र नवदुर्गा भगवतीलाई नौ बहिनीका रूपमा पुज्ने परम्परा छ । यी मन्दिरमा भारतको उत्तराखण्डबाट समेत भक्तजन आउने गरेका जयपुर मन्दिरका भण्डारी मनिदत्त विष्टले बताउनुभयो । शक्तिपीठमा पूजाआजासँगै पन्चैबाजा बजाउने, विभिन्न खेल खेल्नेलगायतका गतिविधि निरन्तर भइरहेका छन् ।