धनगढी। कैलाली बर्दगोरिया गाउँपालिका–२ स्थित सहयोगी हातहरू नेपाल संस्थाले सञ्चालन गरेको सहारा घरलाई एक करोड ५० लाख रुपियाँ सहयोग प्रदान गरिएको छ । सडकमा अलपत्र परेका, मानसिक रोगी, बेसहारा तथा असाहय नागरिकलाई सहारा दिँदै आएको सो सहारा घरलाई व्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय योजना आयोगले उक्त सहयोग प्रदान गरेको हो ।
स्थानीय बलबहादुर विष्टले २०७० सालदेखि सञ्चालनमा ल्याएको सहारा घरमा मानसिक रोगी तथा असाह्य बालबालिका गरी एक सय जनाभन्दा बढीले आश्रय पाइरहेका छन् । देश/विदेशबाट उपलब्ध व्यक्ति तथा सङ्घ संस्थाको सहयोगबाट सहारा घर सञ्चालन हुँदै आएको छ । सरकारले पहिलो पटक यति ठुलो सहयोग गरेपछि साच्चै नै राम्रो काम गरेको अनुभूति भएको सहाराका सञ्चालक विष्टले बताए । समाज सेवामा अहोरात्र खटिएका विष्टले सडकमा अलपत्र परेका नागरिकको अभिभावकीय जिम्मा सम्हाल्दै आउनुभएको छ ।
सरकारले लिनुपर्ने जिम्मेवारी आफूले लिँदाको खुसीसँगै सरकारको साथले उत्साह थपेको उनले बताए । बर्दगोरिया गाउँपालिकाको सिफारिसमा सहारा घरका लागि यत्तिको रकमसहितको योजना परेको हो । सीमित स्रोत साधनमा खुम्चिएर सेवा दिइरहेको सहारा घर अब व्यवस्थित र सुविधायुक्त हुने अपेक्षा गरिएको छ ।