धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा सडककाे लम्बाई बढी ‘मृत्यु स्तम्भ’ राखिएका छन्। सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा आफन्तले दुर्घटनास्थल मै मृत्यु स्तम्भ बनाउने गरेका छन्।
सडक किनारमा किलोमिटर अंकित स्तम्भभन्दा धेरै व्यक्तिका नाम कोरिएका यस्ता स्तम्भले दुर्घटनाको ग्राफ बढेको संकेत मात्र गरेको छैन, पहाडी सडक असुरक्षित रहेको पनि देखाउँछ। भीमदत्त राजमार्गको डडेल्धुरादेखि बुडरसम्मको ५५ किलोमिटर सडक खण्डमा एक सयभन्दा बढी मृत्यु स्तम्भ रहेका छन्।
सुदूरपश्चिमका पहाडी जिल्लाका आधा दर्जन राजमार्गमा एक हजारभन्दा बढी मृत्यु स्तम्भ रहेको छन्। सडकका हरेक मोडमा मृत्यु स्तम्भ बनाएकाले सडक दुर्घटना न्यूनिकरणको लागि ठूलै काम गरेको दाबी गर्ने सरकार र ट्राफिक प्रहरीलाई यी स्तम्भले थप गिज्याइरहेको छ।