दार्चुला। सुर्मा भवानी मन्दिर जात्राको अवसरमा दार्चुलाको अपिहिमाल गाउँपालिकामा तीन दिन सार्वजनिक विदा दिएको छ। आज सोमवारदेखि बुधवारसम्म पालिकाभरीका सरकारी तथा गैरसरकारी कार्यालय लगायत शैक्षिक संस्थाहरूमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको हो ।
पालिकाले एक सूचना निकालेर गाउँपालिकाको प्रख्यात धार्मिक सुर्मा भवानी मन्दिरमा भइरहेको बिरे जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । देशकै सबैभन्दा लामो समयसम्म मनाइने सुर्मा भवानीको जात्रा शनिवारदेखि विधिवत रुपमा शुरु भएको छ । दार्चुला र बझाङ जिल्लाको सीमा क्षेत्रमा यो जात्रा लाग्ने गरेको छ ।
बझाङका सिकारीले लखेट्दा सुर्मा भवानी सुर्मा तालमा बिलय भएको मान्यता रहिआएको छ । सुर्मा तालमा अपि हिमालको खण्डेश्वरीबाट जाने तीर्थालुहरूले पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुहरूले पूजा गर्ने चलन रहेको स्थानीय कमलसिंह धामीले बताए ।