जिम्मेवारी ताेक्दै सुदूरपश्चिम माओवादी केन्द्रको बैठक सम्पन्न

धनगढी । नेकपा माओवादी केन्द्रले सुरु गर्न लागेको तीन महिने अभियानको पूर्वसन्ध्यामा सो पार्टीको सुदूरपश्चिम प्रदेशको पूर्ण बैठक सम्पन्न भएको छ । प्रदेश मुकाम धनगढीमा मंगलबार भएकाे बैठकले अभियानलाई सफल बनाउन नेता कार्यकर्ताको कार्य विभाजन गरेको हाे। 

बैठकले केन्द्रीय सदस्यको अन्तर जिल्ला र प्रदेश सदस्यको अन्तर पालिका पर्नेगरी सुदूरपश्चिममा ७९ वटा अभियान टोली गठन गरिएको र कार्य क्षेत्रसमेत तोकेको पार्टीका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले जानकारी दिए । जसमा अछाममा ओमप्रकाशन पुन, बाजुरामा देवकी मल्ल, बझाङमा लालबहादुर सोडारी, डोटीमा लक्षिराम आचार्य, डडेल्धुरामा हरि ज्ञावाली, बैतडीमा रामप्रसाद तिमिल्सिना, दार्चुलामा नरेन्द्र कुँवर, कञ्चनपुरमा वीरमान चौधरी र कैलालीमा टेकेन्द्र भट्ट रहेका छन् ।

यस्तै, निवर्तमान पार्टी इन्चार्ज खगराज भट्टलाई व्यवस्थापन कार्यालय समिति र ओम विक्रम भाट सरललाई प्रचार प्रसार कार्यालय समितिको जिम्मा दिइएको छ । व्यवस्थापनमा भट्टसहित प्रदेश अध्यक्ष हरिराम चौधरी, पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरु झपट साउद र रमेशसिंह धामी छन् भने प्रचार प्रसार समितिमा भाटसहित दीपेन्द्र रावल, लोकबहादुर बोहरा, जनक बुढा र अंजीत श्रेष्ठ छन् ।

यसअघि बैठकलाई सम्बोधन गर्दै पार्टी सचिव तथा सुुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्यले तीन महिने अभियानमा जनतासँग नेता कार्यकर्ताले आत्मालोचना गर्नुपर्ने बताए । उनले पार्टीका नेता कार्यकर्ता बिग्रेको भन्दै जनताले त आफुहरुलाई राजतन्त्रात्मक व्यवस्था ढालेर गणतन्त्र ल्याउनसम्म साथ दिएको बताए । उले भने– ‘हाम्रो पछिल्लो पटकका व्यवहारले आफूहरुसँग गरेका वाचा र प्रतिवद्धता माओवादीले तोड्यो कि भन्ने जनतालाई शंका पैदा भएको छ, त्यो शंका मेटाउन आत्मसमिक्षासहित जनतामा जान अभियान घोषणा गरिएको हो । अब हामीले फेरी कमि कमजोरीप्रति आत्मसमिक्षा गर्दै जनतासँग एकाकार गर्नुपर्छ ।’

जनयुद्धमा सुदूरपश्चिमले खेलेको जस्तै पार्टी रुपान्त्रणमा पनि भूमिकाको अपेक्षा आफूले गरेको भन्दै इन्चार्ज आचार्यले आआफ्नो कार्यक्षेत्रमा खटिन निर्देशनसमेत दिए । त्यसैगरी पार्टीका स्थायी समिति सदस्य खगराज भट्टले जनयुद्धमा सुदूरपश्चम तेस्रो पिलरको भूमिका पूरा गरेको बताउँदै अभियानले आगामी २०८४ सालको चुनावमा पहिले पिलरको बन्ने अपेक्षा गरे । भट्टले भने–‘जनयुद्धमा सुदूरपश्चिम तेस्रो पिलर बनेर उभिएको थियो । यो अभियानले आगामी चुनावमा पहिलो पिलर बन्नेछ, यही लक्ष्यसहित हामी सबै तीन महिना जनताको घरघरमा पुुग्नेछौ ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.