Dashain Suvakamana

भीमदत्त राजमार्गको विकल्प दैजी–जोगबुढा सडक उपयुक्त !

Ajai

धनगढी । साउन २२ गते परेको अविरल वर्षाले  कैलालीकाे बुढीतोलामा पहिरो गएर सडक अवरुद्ध भएसँगै भीमदत्त राजमार्गको विकल्प खोज्ने विषयमा चर्चा हुन थालेको छ।

भीमदत्त राजमार्गको करिव चारसय मिटरमा आएको ठुलो पहिरोका कारण तराईबाट पहाडी जिल्लाको यातायात प्रभावित बन्न पुगेको छ । सडक सामान्य रुपमा सञ्चालनमा ल्याउन अहिले पनि निकै समस्या भइरहेको छ। भीमदत्त राजमार्ग पहिरोका कारण समस्याग्रस्त बनेपछि संघ र प्रदेश सरकारले विकल्पको विषयमा मुख खोलेका हुन्। भीमदत्त राजमार्ग अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएपछि सडक खुलाउन के गर्न सकिन्छ भनेर संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रदेशका मन्त्रीको टोलीले बुढीतोला सडक र दैजी जाेगबुढा सडकको निरीक्षण गरेका छन्।

संघीय भौतिक विकास तथा यातायात मन्त्री प्रकाश ज्वालासहितको टोली सुदूरपश्चिमको सडक यातायातको दीर्घकालीन समाधान खोज्न दुई दिने भ्रमणमा आएको हो। पहाडी सात जिल्ला जाेड्ने चालु अवस्थाकाे एक मात्र भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यहाँको जनजीवन प्रभावित भएकोले विकल्पमा अन्य राजमार्ग सञ्चालन गर्न संघ र प्रदेश सरकारले सहकार्य गर्ने मन्त्री प्रकाश ज्वालाले बताए।

पहिरो खुलाउने काम तुरून्त सुरू गरे पनि अहिलेसम्म दुइतर्फी बाटो खोल्न सकिएको छैन,’ उनले भने, ‘भीमदत्तसहित तराईलाई पहाडी जिल्लाहरूसँग जोड्ने वैकल्पिक राजमार्गहरूको विकास कसरी गर्न सकिन्छ भनेर संघ र प्रदेश सरकारले सहकार्य गर्ने विषयमा प्रदेश सरकारसँग छलफल भएकाेछ।’

भीमदत्त राजमार्गको विकल्पमा सेती राजमार्ग, खुटिया–दिपायल राजमार्ग, महाकाली राजमार्ग र दैजी–जोगबुडा–डडेल्धुरा राजमार्गको निर्माण गर्नुपर्ने आवश्यकता बढेको छ। यस्तै चिसापानी जङ्गलघाट मङ्गलसेन सडक र पूर्व–पश्चिम राजमार्गको स्तरवृद्धिका लागि प्रदेश र संघ सरकारले सहकार्य गर्ने विषयमा छलफल गरिएको छ। सुदूरपश्चिमको समग्र यातायात क्षेत्रको विकासका लागि संघ र प्रदेशले सहकार्य गर्ने विषयमा अध्ययन र छलफल गर्नेछौँ।’

उनले पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने भीमदत्त राजमार्ग बाहेक महाकाली राजमार्ग, सेती राजमार्ग, खुटिया–दिपायल द्रूत मार्ग, दैजी–जोगबुडा सडक र चिसापानी–जङ्गलघाट मङ्गलसेन सडक निर्माण गरिनुपर्ने माग उठ्ने गरेको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.