रानाथारु समुदायले आज तिज मनाउँदै

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा आज तिज पर्व मनाइँदै छ। दुवै जिल्लामा बसोबास गर्ने राना थारु समुदायले तिज पर्व मनाउन लागेको हो। तिज यो समुदायको ठुलो पर्व भएकाले धूमधामसँग मनाउने गरिएको छ।

आज महिला दिदीबहिनीहरू दिनभरि निराहार व्रत बसेर तिज पर्व मनाउने राना थारु समुदायका बुद्धिजीवी डा. जीवन रानाले बताइन। ‘पानीसमेत नखाएर दिनभरि व्रत बस्ने गर्छौ’, उनले भनिन्। ‘पछि साँझ नदीमा पूजाआजा गरेर त्यहीँ प्रसादको रूपमा तयार पारिएको परिकार खाने चलन छ।’

राना थारु समुदायको तिज अरू समुदायको तिजभन्दा फरक रहेको छ। महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गरेका छन्। त्यसै गरी, आफूहरूको तिज दरबिनाको तिज रहेको रानाले बताइन। ‘अरू समुदायको जस्तो हाम्रो तिजमा दर खाने चलन छैन’, उनले भनिन, ‘साँझ पूजाआजा गरेर एकैचोटी प्रसाद र भात खाने हो।’

नेपालमा अन्य समुदायले मनाइने तिजको अवसरमा महिनौँ दिनसम्म दर खाने गरेको देखिन्छ। तर, राना थारु समुदायका महिलाले दरबिनाको तिज मनाउने गरेका छन्। आज तीजको दिन दिनभरि निराहार व्रत बसेर अपराह्न वा बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.