धनगढी । कैलालीको धनगढीमा रहेको एक क्लिनिकबाट गर्भपतनकाे औषधी खाएकी महिलाकाे मृत्युपछि जथाभावी औषधी खुवाएकाे भन्दै कारवाहीकाे माग गरेर मृतकका आफन्तले कैलाली जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।
सेती अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिती थापाको मृत्यु भएको हो।
कैलाली प्रहरीका अनुसार बिहिवार बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।
औषधी सञ्चालकको बैधानिकता के हो? उसको लापरवाही हो होइन, भन्ने लगायत विषयमा पिडीतहरुले जान्न चाहेर दोषीलाई कारबाहीको माग गर्दै अहिले जिल्ला प्रहरी कार्यालय अगाडी धर्ना दिएका छन्। उनीहरुले प्रहरी अगाडी विरोध गर्दै सडक समेत अवरुद्ध गरेका छन्।
घटनापछि क्लिनिक सञ्चालक गोदावरी नगरपालिका–२ का २५ वर्षीय विनोदमणी जोशीलाई प्रहरीले पक्राउ गरिसकेकाे बताएकाे छ।