महेन्द्रनगर । केही पहिले बनेकाे झोलुङ्गेपुल र हालै सम्पन्न महाकालीमाथिकाे चार लेन पक्किपुलले भौगोलिकरुपले विकटतालाई सहज पारेकाे भएपनि महाकाली पारीको दोधारा चाँदनीको सीमा बस्तीका बासिन्दा भने विभिन्न दुखः कष्ट सहेर जीवनयापन गरिरहेका छन् । दोधारा चाँदनीको दक्षिण सीमामा पर्ने भारतसित जोडिएको उक्त गाउँमा २०२२ सालको सेरोफेरोमा बस्ती बसेको हो ।
कुतियाकवरमा कुनै बेला एक सय ४५ परिवारको बसोबास रहे पनि हाल ४२ परिवार मात्रै बस्दै आएका छन् । उक्त गाउँ महाकाली नदी र जोगबुढा नदीको दोसाँधमा पर्छ । दुवै नदीका कारण बर्सेनि यहाँ बाढीको खतरा रहन्छ । हरेक बर्सातमा गर्ने नदी कटानका कारण बस्ती साँघुरिन पुगेको छ । तटबन्ध निर्माणका लागि ठोस पहल अझै नभएको स्थानीय टेकबहादुर सुनारले बताए । ‘अहिले पनि जोगबुढा र महाकालीको मिलन बिन्दु छेउछाउमा बाढीले कटान गरेर धान खेती बगाइरहेको छ’, उनले भने, ‘सीमाको पहरेदारका रुपमा अभाव सहेर बस्यौँ । बाढीले कटान गर्दा बस्ती नै जोखिममा छ ।’
दलित र विपन्न समुदायका नागरिकको बसोबास रहेको कुतियाकवरमा पक्की संरचनामा नाममा अहिले दातृ निकाय र नगरपालिकाको सहयोगमा बाढीबाट बच्न ‘सेफ हाउस’ बन्दै छ । यहाँ प्रायः घर कच्ची छन् । ‘हामीलाई बस्तीमा बालबालिका पढाउन प्राविसम्मको स्कुल भइदिए पनि सहयोग पुग्थ्यो’, स्थानीय भीमसिंह सुनारले भने, ‘अहिले पनि झोलुङ्गे पुल तरेर जाँदा बाटो छेउको उखुबारीमा बाघ र स्यालको त्रास बालबालिकालाई जहिल्यै रहन्छ ।’
विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेको हो । त्यसपछि बस्तीमा बिजुलीको प्रबन्ध गरिएको थियो । यि दुई बाहेक अन्य विकास निर्माणका काम यहाँ हुन नसकेको सुनारको भनाइ छ । ‘यहाँको प्रमुख समस्या नै नदी कटान हो’, उनले भने, ‘नेताहरुको आश्वासनले मात्रै तटबन्ध बन्दैन् ।’ शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारबाट पछि परेको कुतियाकवरका नागरिक मजदुरीका लागि भारतीय बजारमाथि निर्भर छन् । ‘सीमामा थिचोमिचो सहेर पनि दशकौँदेखि रक्षक भएरै बस्दै आयौँ’, सुनारले भने, ‘झोलुङ्गे पुल बनेपछि आवागमनमा सहज भएको छ ।’ स्थानीयले भनेअनुसार नदी कटानको समस्या विगत पाँच दशकदेखिको हो । महाकाली नदीको दुवैतर्फ तटबन्ध निर्माण बेला बखतमा भए पनि कुतियाकवर क्षेत्रमा बाँकी नै छ ।
दोधारा चाँदनी–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवरवासी लामो समयदेखि राष्ट्रको सेवक भएर सीमा सुरक्षामा तैनाथ रहेको बताए । ‘त्यो बस्ती सीमा संरक्षणका लागि पनि महत्वपूर्ण छ, त्यहाँको विकास निर्माणमा ध्यान दिन जरुरी छ, सुविधा पाए पो सीमाका रुक्षकका रुपमा बस्लान, त्यसैले राज्यले यसमा ध्यान दिन जरुरी छ ।’