धनगढी । कैलालीको धनगढीका दुई मेडिकल क्लिनिक सञ्चालकलाई पक्राउ गरिएकाे छ । अनुमति विना नै सञ्चालनमा रहेकाले स्वास्थ्य कार्यालयकाे समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडाँडीमा ४५ वर्षिय अर्जुन कुँवरले सञ्चालन गरेको अर्जुन क्लिनिक र वडा नम्बर ७ मा २१ वर्षीया कमला बोहराले सञ्चालन गरेको अभिनव हेल्थ क्लिनिक अनुमति विना सञ्चालनमा रहेका पाइएको हो। धनगढीका कुँवर र गौरीगंगाका वडा नम्बर १० की बोहरालाई पक्राउ गरिएको छ।
उनीहरुले क्लिनिक सञ्चालनको अनुमति लिएका थिएनन्। अन्य मापदण्डसमेत पूरा नगरेको पाइएको प्रहरीले जनाएको छ। उनीहरुले विभिन्न प्रकारका औषधिसमेत बिक्री गर्दै आएका थिए। दुबै जना विरुद्द मुलुकी अपराध संहिता २०७४ परिच्छेद १९ अन्तर्गत ईलाज सम्बन्धी कसुर मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए।
कैलाली जिल्ला अदालतबाट मंगलवार म्याद थप गरिएको छ। थप अनुसन्धान जारी रहेको चन्दले बताएका छन्।