दार्चुला। दार्चुलाको मार्मास्थित चेमेलिया नदीमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको सफल परीक्षणपछि सोमबार उद्घाटन गरिएको छ । सुदूरपश्चिमकै पहिलो ठुलो यस आयोजनाकाे उद्घाटनसँगै साेमवारबाट नियमित विद्युत उत्पादन थालिएको हाे ।
दार्चुलाको मार्मा गाउँपालिका–१ किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका –२ घट्टीगाडमा रहेको ४० मेगावाटको जलविद्युत आयोजनाको सोमबार मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
२०७७ माघ महिनादेखि निर्माण सुरु भएको आयोजना लक्षभन्दा छ महिना अघि नै निर्माण सम्पन्न भएको अपि पावर कम्पनीका सञ्चालक सञ्जीव न्यौपानेले बताए । विद्युत उत्पादन गर्न ८ अर्ब रुपियाँ खर्च भएको जानकारी दिदै उनले आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीन वटै टर्वाइन, जेनेरेटर र अन्य उपकरणको परीक्षण सफल भएपछि उद्घाटन गरेर नियमित विद्युत उत्पादन थालिएको बताए ।