
धनगढी । कैलालीको रातोपानी सामुदायिक वन फँडानीको छानबिन गर्न समिति गठन गरिएको छ। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपसचिव भरतप्रसाद भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरेकाे हाे ।
मन्त्रालयका अनुसार सामुदायिक वनका उपभोक्ताको लिखित उजुरी आएपछि मन्त्रालय आफैँले छानबिन थालेको हो। उपभोक्ताको गुनासोपछि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र सचिव ढकालको टोलीले यसअघि रातोपानी सामुदायिक वनमा रूख कटान भएको क्षेत्रको निरीक्षणसमेत गरेको थियो।
निरीक्षणका क्रममा मन्त्री धामीले छानबिन गरेर वन फँडानीमा संलग्नलाई कारवाहीको दायरामा ल्याउने बताएका थिए। वन फँडानी भएको देखिएको भन्दै फँडानी गर्ने जोसुकै भए पनि कारबाहीको दायरामा ल्याइने मन्त्री धामीले प्रतिबद्धता जनाएका थिए । पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको रातोपानी सामुदायिक वन चुरेसँग जोडिएको महत्वपूर्ण भावर क्षेत्र हो।
स्थानीय उपभोक्ताले सामुदायिक वनका अध्यक्षसहित पदाधिकारीको मिलेमतोमा वन फँडानी भएको आरोप लगाएका छन्। वन फँडानी भएको खबरपछि गएको टोलीले दुई जनालाई पक्राउ गर्नुका साथै दुई सय थान चिरान कडी र ५० वटा फ्रेमसमेत बरामद गरेको सव वन डिभिजन कार्यालय अत्तरियाका प्रमुख निराजन कडेलले जानकारी दिए।
