बझाङ। बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनीजस्तै धेरैले तरकारी खेती रोजेका हुन् ।
बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उनको रोजाइ तरकारी खेती नै भएको छ । “दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गत साता रु. ३४ हजारको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ”, बोहराले भने ।
यसअघिका वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर बित्थ्यो । उसबाटै उनको परिवारको खर्च चल्थ्यो । बोहराले भने, “एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदिन ।”
कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताइन् । “हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।”
बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । हालसम्म रु. २७ हजारको आलु बिक्री गरिसकेको उनले सुनाइन् । किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन् । रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए। रमादेवीले भनिन, “अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु । यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ । पढाइ पनि गर्छ, भारत पठाउँदिन ।”