
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा निजामती ऐन बनेको भएपनि संघीय कानून नबन्दा प्रहरी समायोजन हुन नसकेको भन्दै यसमा राजनीतिक र प्रशासनीक नेतृत्व चुकेको बताएका छन् । प्रदेशसँग प्रहरी नहुँदा बेला बखतमा व्यबस्थामाथि नै प्रश्न उठ्ने गरेको उल्लेख गर्दै उनले निकै प्रतिक्षारत निजामती ऐन छिटोभन्दा छिटो पास गरेर प्रहरी समायोजन गरिनुपर्ने बताएका हुन् ।
सोमवार धनगढीमा प्रदेश प्रहरी कार्यालयको आधुनिक नयाँ भवनको उद्घाटन समारोहलाई सम्बाेधन गर्दै पूर्वमुख्यमन्त्री भट्टले सुरक्षा विनाको राज्य सफल नहुने ठानेर आफ्नाे पालामा भौतिक, प्राविधिक लगायका सबै हिसावले प्रहरीलाई सुसज्जित बनाउन खोजेकाे बताए । त्यसै सिलसिलामा सुदूरपश्चिसम प्रदेश सरकारको २३ करोड ८६ लाख ९४ हजार ४ सय ४१ रुपैयाँ लागतमा सुविधा सम्पन्न प्रदेश प्रहरी कार्यालय निर्माण भएको हो।
प्रदेश सरकारकाे आन्तरिक मामिला मन्त्रालय र कुमार जेभी कन्ट्रक्सनवीच २०७८ बैशाख १९ मा प्रदेश प्रहरी कार्यालय निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो। दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भए पनि निर्माण कम्पनीले पाँच महिना अगावै काम सकेर भवन हस्तान्तरण गरेको हो ।
नव निर्मित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय परिसरमा विभिन्न ८ वटा भवन निर्माण गरिएको छ। एउटा कार्यालय भवन, ४ वटा निवास भवन, २ वटा ब्यारेक र एक मेस भवनको निर्माण गरिएको छ।
