धनगढी । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिदै तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको बताए।
उत्तरपुस्तिका परीक्षण गरेर तथ्याङ्क प्रविष्ट गर्ने कामसमेत सकिएको र रुजु गर्ने काम भइरहेको भन्दै उनले भने, एसइईको नतिजा प्रकाशनको अन्तिम तयारी छ । अहिले रुजुको काम चलिरहेको छ, अबको दुई तीन घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ । यसअघि नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णयका लागि बुधबार बोर्ड बैठक बसेकाे थियाे ।
कुनै प्राविधिक समस्या नआए आजै साँझसम्म नतिजा सार्वजनिक हुने सम्भावना छ र कुनै प्राविधिक समस्या आएमा भने भोलि प्रकाशन गरिने छ । एसइईको नतिजा प्रकाशनका लागि आजको गोरखापत्रमा सूचना प्रकाशन गर्दै कसरी परीक्षाफल हेर्न सकिन्छ भनेर सूचित गरिएको छ ।एसइईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।