नीति कार्यक्रमबाट अपाङ्गतालाई अपमान गर्ने शव्द हटाउन माग

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई अपमानित गर्ने शव्द प्रयोग भएको भन्दै अपाङ्गता अधिकारकर्मीृहरुले हटाउन माग गरेका छन् । 

सरकारले ल्याएको नीति तथा कार्यक्रममा कतै ‘शाररीक बिकृत‘ त कतै ‘बौद्धिक असक्षमता’ ‘फरक क्षमता भएका’ उल्लेख भएकाले यी शव्दले अपाङ्गता भएका व्यक्तिलाई होच्याएको, अपमानित गरेको भन्दै उनीहरुले संयुक्त राष्ट्र संघले ल्याएको अन्तर्राष्ट्रिय कानून ‘अपाङ्गता भएका ब्यक्तिको अधिकारसम्बन्धि महासन्धी’ अनुसार अपाङ्गता भएका ब्यक्तिहरु नै हुनुपर्ने माग गरेका हुन् ।

धनगढीमा उपलब्ध अपाङ्गता अधिकारकर्मीको टोलिले शुक्रवार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलवहादुर शाह, सभामुख भीमवहादुर भण्डारी र सामाजिक विकास मन्त्रालयका सचिव ज्ञानप्रसाद ढकाललाई छुट्टाछुट्टै मागपत्र बुझाएको छ । महासंघका अध्यक्ष मानवहादुर साउदले अपाङ्गता भएका व्यक्ति कुनै अदभूत वा फरक क्षमता भएका नभई संरचनागत असुविधाले अप्ठ्यारोपन मात्रै भएको बताए ।

हात खुट्टा नभएको मान्छे कृत्रिम हातखुट्टा लगाएर हिडडूल गर्न सक्ने भन्दै उनले त्यसमा भौतिक संरचनाले अपाङ्गता भएका व्यक्तिअनुकूल हुनुपर्ने बताए । विकृत असक्षम भन्नुभन्दा शारीरिक अपाङ्गता, बौद्धिक अपाङ्गता, दृष्टीविहीन अपाङ्गता भनेर सम्बोधन हुनुपर्ने अधिकारकर्मीको माग छ । 

अपाङ्गता अधिकारकर्मीको मागपत्र बुझ्दै मुख्यमन्त्री कमलवहादुर शाहले नीति तथा कार्यक्रम संसदमा टेवुल भैसकेकाले प्रक्रिया मिलाएर सच्याउने आश्वासन दिए । उनले आउँदो बजेटमा अपाङ्गता भएका सबै वर्ग तथा क्षेत्रलाई समग्रमा समेट्ने प्रतिबद्धता पनि जनाए । 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.