दार्चुला । दार्चुलाका स्थानीय गाउँघरमा एक/दुई जना घरहेराला, बच्चा हेराला छोडेर सबैजसाे यसबेला यार्सा सङ्कलनका लागि लेकतिर लागेका छन्। हिमाली क्षेत्रमा यार्सा सिजन सुरु हुने बित्तिकै विद्यालयमा विद्यार्थीको उपस्थिति हुँदैन। विद्यार्थी नहुँदा विद्यालय बन्द हुने र शिक्षकहरू पनि यार्सा सङ्कलनका लागि पाटन जाने गरेका हुन्।
यार्सा खोज्न सुरु भएसँगै दार्चुलाको अपिहिमाल, मार्मा, नौगाडलगायत विभिन्न स्थानीय तहका सङ्कलकहरू अपिहिमालको हिमाली पाटनमा पुगेका छन्। यस्तै व्यास र दुहुँलगायत स्थानीय यार्सा सङ्कलन हुने पाटनहरूमा पुगेका छन्। अपिहिमालको लोलु, भवय, पिलकनदह, रिङ्देपानी, कालीढुङ्गा, रौन्याड, सतगङ्गालगायत पाटनहरूमा बढी यार्सागुम्बा सङ्कलन हुने गरेको छ। सयौँ बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासमेत यार्सा सङ्कलनका लागि पाटन पुगिसकेका छन्। सङ्कलकहरूले पैसाका लागि जोखिम मोलेर यार्सा सङ्कलन गर्ने गरेका छन्।
विद्यालय बन्द, शिक्षक विद्यार्थी लेकतिर
दार्चुलाको अपिहिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनका लागि शिक्षक र विद्यार्थी पनि पाटनहरूमा पुगेका छन्। अपिहिमालका अधिकांश शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न लेकतिर गएकाले विद्यालय बन्द भएका छन्। विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले पछिल्लो समयमा बिदा मिलाउने गरेर विद्यालय बन्द गर्ने गरिएको अपिहिमाल गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले बताए।
अपिहिमाल गाउँपालिकाभरिका २४ वटै विद्यालयमा वैशाख १७ गतेदेखि जेठ ५ गतेसम्म बिदा दिइएको गाउँपालिकाले जनाएको छ। यार्साको सिजन ढिला सुरु भएकाले विद्यालय सञ्चालन गरे पनि शिक्षक, विद्यार्थी फर्काउन मुस्किल हुने गरेको छ।