धर्तीको स्वर्ग रामारोशन जहाँ ‘१२ बण्ड १८ खण्ड’

गिता कुँवर

अछाम । ‘१२ बण्ड १८ खण्ड’ को नामले परिचित छ अछामको रामारोशन। ‘धर्तीको स्वर्ग’ यो क्षेत्र रामारोशन गाउँपालिकाको वडा नम्बर– ५ मा अवस्थित छ। रामारोशन क्षेत्र पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको एक महत्त्वपूर्ण प्रकृतिको बरदान हो। उच्च लेकाली भेगमा रहेको यो क्षेत्रमा विभिन्न आकृतिका १२ वटा ताल र १८ घाँसे मैदान छन्। त्यसैले रामारोशनलाई ‘१२ बण्ड १८ खण्ड’ भनिएको हो।  रातो, सेतो, गुलाबी रंगका गरी ९ प्रकारका लालीगुराँस र राष्ट्रिय चरा डाँफे पाइन्छन्। त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको मन रामारोशनको मनमोहक दृश्यले लोभ्याउने गरेको छ।

विभिन्न प्रजातिका जडीबुटीको भण्डार मानिने रामारोशनमा लोपोन्मुख वन्यजन्तुको समेत बासस्थान छ। यहाँ थुप्रै सुन्दर तालहरू छन्। जसले सबैको मन लोभ्याउँछ। करिब १० बिघाभन्दा बढी क्षेत्रफलमा मैदान र ३ वटा ताल फैलिएका छन्। एक दिनमा घुमेर सकिँदैन रामारोशन क्षेत्र।यसको लागि करिब दुई दिन लाग्छ। एउटा मात्र ताल परिक्रममा गर्न घण्टौं लाग्छ। रामारोशन क्षेत्र पुग्ने जो कोहीको पनि एकै क्षणमा लामो यात्राको थकान मेटिन्छ। नयाँ वर्षको समय रामारोशन घुम्नका लागि अनुकूल मानिन्छ।

यहाँका बाटुल्ले ताल, लामी दह, तल्लो धाउने, रगाडे, लिस्सेडाली, गाग्रे, ताउले, दल्याना, डउठे, बाउले गडा, रामे ताललगायतका तालले समेत रामारोशन क्षेत्रको आकर्षण बढाएका छन्। यहाँ तालहरू मात्रै छैनन्, अग्ला अनि उत्तिकै आकर्षक मैदानहरू पनि छन्। विभिन्न जिल्लाबाट साँफेबगर र मंगलसेनबाट कच्ची सडकमा जिपको यात्रा गरी त्यहाँ पुग्न सकिन्छ। वसन्त ऋतु र नयाँ वर्षमा रामारोशन घुम्न आउने पर्यटकलाई सन्तुलित वातावरण र अनुकूल मौसम पाइन्छ।

साना ठूला तालवरपरका मैदानमात्रै होइन, रामारोशनको परिचय र पहिचान झल्काउनका लागि यहाँ अन्य थुप्रै प्राकृतिक स्रोत रहेका छन्। रामारोशन क्षेत्रभित्र लोपोन्मुख जंगली जनावरदेखि बहुमूल्य जडीबुटी पनि प्रशस्तै पाइन्छ। रामारोशन क्षेत्रमा घुमन्ते चरा, माछा, उभयचर, कीटपतंग र बोटका लागि महत्त्वपूर्ण मानिन्छ।

रामारोशन पर्यटनसँगै धार्मिक रूपले पनि उत्तिकै महत्त्वपूर्ण रहेका छ। त्यहाँका तालहरूलाई देवी मान्ने गरिन्छ। कैलाश खोलाको मुहान रामारोशन भएकाले पनि शिवको रूपमा मान्ने चलन रहेको छ। किनिमिनी पाटनलाई कृष्ण भगवान् स्वरूप मान्ने गरिएको स्थानीयको भनाइ छ। पर्यटनको प्रचुर सम्भावना बोकेको रामारोशन क्षेत्रका ताल संरक्षणको अभावमा सुक्दै जान थालेका छन्। पछिल्लो समय तालको संरक्षण र रामारोशन क्षेत्रको विकासका लागि सबैको ध्यानाकर्षण भए पनि पर्याप्त लगानी नहुँदा यस्तो समस्या भएको हो।

सुदूरपश्चिमकै प्रमुख पर्यटकीय क्षेत्रमध्येको एक अछामको रामारोशन यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ। यहाँ सडकको पहुँच मात्र राम्रो हुने हो भने थुपै्र बाह्य पर्यटकहरूलाई भित्त्याउन सकिने स्थानीय पुष्प विष्ट बताउँछन्। उनी भन्छन्, ‘भौतिक पूर्वाधारहरू खडा गर्न सके मात्र रामारोशनले देशकै अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ, अहिले सडकको राम्रो पहुँच नहुँदा पनि पर्यटकहरूको आगमन भइरहेको छ, सडक राम्रो भए मात्र पनि यहाँ घुम्न आउनेको ओइरो लाग्छ।’

यहाँका स्थानीयहरूले सानो सानो होमस्टे सञ्चालन गरेका छन्। पर्यटकहरूलाई खान बस्नका लागि समस्या नै छैन अहिले त। अर्गानिक खाना पाइन्छ। रामारोशनमा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लागी थुपै बजेट आए पनि सहि सदुपयोग भने हुन नसकेको उनले बताए। पर्यटकीय क्षेत्रको नाममा कति बजेट आयो भन्ने यकिन विवरण कुनै पनि निकायसंँग नरहेको विष्ट बताउँछन्। विगत १५ वर्षदेखि गेस्ट हाउस सञ्चालन गर्दे आएका स्थानीय इन्द्रबहादुर रोकायाले रामारोशनको नाममा आएको बजेट सही ढंगले प्रयोग भएको भए यस ठाउँको कायापलट भइसक्ने बताए।

‘यो ठाउँको विकासका लागि आएको बजेट व्यक्ति विशेषले ल्याए पनि आफ्नै गाउँको विकासका लागि हो भन्ने बुझ्न पर्‍यो, तबमात्र विकास हुने हो, यहाँका जनप्रतिनिधि, नेताहरू भाषण गर्दा रामारोशनलाई पर्यटकीय क्षेत्र बनाउन ज्यान दिएर लाग्छौं भन्छन् तर उनीहरू कार्यकर्ता पाल्नका लागि योजनाहरू हाल्ने, काम नगर्ने, काम नगर्नेलाई संरक्षण गरिरहनेजस्ता व्यवहारले यो ठाउँ पछाडि परेको छ’ रोकाया भन्छन्।

नयाँ वर्षको तीन दिनको अवधिमा मात्र ५५ हजार राजस्व संकलन भएको छ। वैशाख १ गतेदेखि ३ गतेसम्म हजारभन्दा बढी पर्यटकहरूले रामारोशनको भ्रमण गरेको र ५५ हजार राजस्व संकलन भएको रामारोशन क्षेत्र पर्यटन विकास समितिकी कार्यकारी निर्देशक गंगा कुँवर बुढाले बताइन्। उनले भनिन्, ‘गाउँ, वडा, पालिका जिल्ला हँुदै देश समृद्ध हुने हो, देशकै मुहार फेर्ने हो भने राज्यले यस्ता दूरदराजमा रहेका पर्यटकीय क्षेत्रहरू लगानी गर्नुपर्छ। एउटा पालिकाको बजेटले मात्र भ्याउँदैन। यस क्षेत्रमा बजेटका लागि प्रदेश, संघ सरकारसँग धाएका धायै छौं। तर सुनुवाइ हुँदैन, कुराले मात्र देश बन्दैन, पिछडिएको क्षेत्रसम्म पनि सरकारको नजर पुग्नु पर्‍यो।’

२०७७ भदौ २ गते आएको बाढीले सबै ध्वस्त बनायो। भएका अलिअलि भौतिक संरचनाहरूसमेत बाढीले क्षत्विक्षत बनाएपछि फेरि रामारोशनको विकास केही वर्षपछाडि धकेलिएको बुढाले बताइन्। रामारोशनमा पूर्वाधार विकास कार्यालय साँफेबगरमार्फत अहिले सडक निर्माणको काम भइरहेको छ। सडक निर्माणको काम तीन चरणमा भइरहेको छ। पहिलो चरणको सडक निर्माण काम जयगढदेखि कैलाश खोलाको पक्की पुलसम्मको बज्र गुरु कन्स्ट्रक्सन, पक्कीपुलदेखि रामारोशनको मुजाबगरमा रहेको प्रवेशद्वारसम्म जयदेवी एसएस निर्माण सेवा र प्रवेशद्वारदेखि वडा कार्यालयसम्म पीएस बानियाँ जेभीले गरिरहेको छ।

रामारोशनलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागि आएको बजेटको सही सदुपयोग गर्न सकिए यस क्षेत्रको कायापलट हुनेछ। देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन, देश मुहार फेर्न र मुलुकलाई समृद्ध बनाउन रामरोशनले महत्त्वपूर्ण योगदान गर्न सक्छ। त्यसैले व्यक्ति पिच्छे र पहुँचको आधारमा आएको बजेट र कामको अनुगमन हुन जरुरी छ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.