ब्यासमा हिमपहिराे, डोटीका ३ र दार्चुलाका २ बेपत्ता

धनगढी । दार्चुलाको व्याँसमा गएकाे हिमपहिरोमा डोटीका ३ र दार्चुलाका २ गरी पाँच जना अझै बेपत्ता रहेका छन् । मंगलवार दिउँसाे ब्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपहिरो गएको थियो।

यार्सा टिप्न गएकाहरू त्रिपाल टाँगेर बसेको अवस्थामा हिमपहिरो खसेको र बेपत्ता भएकाकै टिममा रहेका सातजनाले भने भागेर ज्यान जोगाएका छन् । सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म छाङरुका डिएसपी ईश्वरीदत्त भट्टका अनुसार मंगलबार अपराह्न पौने ३ बजेतिर हिमपहिरो गएको थियो । 

प्रहरीका अनुसार बेपत्ता भएकाहरू डोटीको जोरायल गाउँपालिका बुडरका नोक्माडोमा थापा, ईश्वरी थापा र क्षिमी सोमो थापा तथा दार्चुला दुहु गाउँपालिका– ४ फोक्सेका कमला कुँवर र प्रवीण कुँवर छन् । ‘हिमपहिरो गएको क्षेत्रमा यार्सा टिप्न गएका दुई टोली रहेछन्, एउटा टोली दुई–तीन दिनअघि र अर्को टोली मंगलबार मात्रै त्यहाँ पुगेको रहेछ,’ डिएसपी भट्टले भने, ‘१२ जनाको टोलीका सातजना भागेको र अर्को टोलीका सबै १४ जना ओडारमा लुकेर जोगिएछन् ।’ 

घटनाको सूचना पाएलगत्तै छाङरुस्थित सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मबाट २५ र प्रहरी चौकी सीतापुरबाट पाँचजना प्रहरी गरी ३० जना सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो । उनीहरूले रातिसम्म बेपत्ताको खोजी गरे पनि भेट्टाउन सकेनन् । ‘बुधबार फेरि खोजी गर्छौं ।’ हिमपहिरोमा हराएकाहरूको खोजीका लागि दार्चुला प्रशासनले गृह मन्त्रालयसँग हेलिकोप्टर मागेको छ ।

जोगिएकाहरूको भने उद्धार गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.