धनगढी । समाजमा रहेका अपाङगता भएका ब्यक्तिसंग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उदासिनता देखाएका छन् । राष्ट्रिय अपङ्ग महासंघ प्रदेश समितिकाे नेतृत्वमा आज सुदूरपश्चिम प्रदेशमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुकाे समुह लिएर मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाउन गएकाप्रति मुख्यमन्त्री उदासिन देखिएका हुन् ।
महासंघ सुदूरपश्चिम अध्यक्ष मान बहादुर साउदकाे नेतृत्वमा मुख्यमन्त्री शाहलाई बधाई तथा माग पत्र बुझाउन गएका अपाङ्गता भएका ब्यक्तिकाे माग सुन्न र प्रतिबद्धता जनाउन मुख्यमन्त्री शाहले एक शब्द पनि खर्चेनन् । अपाङ्गमैत्री नरहेकाे कार्यालयकाे दाेस्राे तला पुग्न मान्छे बाट बाेकाएर एक डेढ घण्टापछि मुख्यमन्त्रीकाे कार्यकक्षमा पुग्न सफल उनीहरुकाे मागपत्र बुझ्दै के गर्न सकिने वा नगर्ने भन्नुभन्दा चिया बन्दैछ खाएर जानूहाेला भनेर शाह गाेप्य रुमतिर गए ।
मुख्यमन्त्रीकाे ब्यवहार देखेर वाक्क भएका अपाङ्गता भएका ब्यक्तिहरु प्रमुख सचिव नारायणप्रसाद दुवाडी र कानून सचिव गंगावहादुर खरेलसंग आफ्ना माग राख्दै बाहिरीएका थिए । प्रमुख सचिव दुवाडी र सचिव खरेलले प्रदेशबाट सम्बाेधन गर्न सकिने मागप्रति प्रतिबद्धता जनाउदै अन्य मागबारे संघीय सरकारमा लेखी पठाउने बताए ।
यस्तै माग विगतमा तत्कालिन मुख्यमन्त्री त्रिलाेचन भट्टसंग पनि राखेकाे तर मुख्यमन्त्री भट्टले सक्दाे सम्बाेधन गर्ने आश्वासन दिएकाे भएपनि अहिलेका मुख्यमन्त्रीले कुनै मतलब नलिएकाे राष्ट्रिय अपाङ्ग महासंघ प्रदेशका पूर्वअध्यक्ष भीमवहादुर शाहले गुनासाे गरे ।